काठमाडौं – नेपाली कांग्रेसले अब विषयगत विभाग गठन नगर्ने भएको छ। पार्टीले विभागको सट्टा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत नीति निर्माण, अध्ययन, बहस र विषयगत काम अघि बढाउने जनाएको हाे ।
सभापति गगन थापाका अनुसार विशेष महाधिवेशनबाट पारित विधानअनुसार विभागको व्यवस्था हटाइएको हो। प्रतिष्ठानअन्तर्गत विभिन्न क्षेत्रका १२ वटा उपसमिति गठन गरी भूमि व्यवस्था, विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, निर्वाचन सुधार, पूर्वाधार, रोजगार, डिजिटल सुशासन, जातीय विभेदलगायत विषयमा पार्टीको धारणा तयार पार्ने जिम्मेवारी दिइएको छ।
प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्य र निर्देशकमा डा. सुरेश आचार्य छन्। हाल प्रतिष्ठानमा प्रमुखसहित ४७ सदस्यीय समिति रहेको कांग्रेसले जनाएको छ।