चितवन - मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान ११ : ४० बजे जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ स्थित पानीधारा भन्ने स्थानमा पहिरो खसेको हो ।
सडक दुवैतर्फ ठप्प भएपछि उक्त सडकखण्ड भएर यात्रा गर्ने सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् । ट्राफिक प्रहरीले उक्त सडकखण्ड भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालक तथा यात्रुहरूलाई सडक सुचारु नभएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।
साथै, यात्रा सुरु गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न समेत हार्दिक अनुरोध गरिएको छ । हाल सडकमा खसेको पहिरो हटाई बाटो खुलाउने कार्य भइरहेको छ ।