काठमाडौं - महँगी भत्ता उपलब्ध नगराएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका क्रममा कर्मचारीहरूले काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाललाई कार्यकक्षभित्रै थुनेका छन्।
मुख्य अधिकृत भुसाल कार्यकक्षमा रहेका बेला आन्दोलनरत कर्मचारीहरूले कार्यालयको ढोका बन्द गरेर बाहिर धर्ना दिएका हुन्।कर्मचारीहरूले गत माघ महिनादेखि महँगी भत्ता नपाएको गुनासो गरेका छन्। काउन्सिलमा कार्यरत २२ जना स्थायी कर्मचारी आन्दोलनमा सहभागी रहेका छन्।
कर्मचारीहरूका अनुसार कार्यालयभित्र स्थायी र करार कर्मचारीबीच विभेद भएको भन्दै करार कर्मचारीसमेत असन्तुष्ट छन्।आन्दोलनरत कर्मचारीहरूले आर्थिक अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकमा निहित रहेकाले उनीविरुद्ध पनि विरोध जनाएका छन्। उनीहरूले लामो समयदेखि रोकिएको महँगी भत्ता तत्काल उपलब्ध गराउन तथा कर्मचारीबीचको विभेद अन्त्य गर्न माग गरेका छन्।