काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ हुने भएको हो।
पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। यसअघि सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बिमा तथा धितोपत्रसम्बन्धी पौडेलसँग सम्बन्धित विभिन्न मुद्दाका सक्कल फाइल झिकाउन आदेश दिएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई असार ९ गते विशेष अदालतमा उपस्थित गराइएको थियो। विशेष अदालतले उनलाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।