काठमाडौं- इरानले अमेरिकी उच्च अधिकारीहरूसँग तत्काल प्रत्यक्ष वार्ता नगर्ने स्पष्ट पारेपछि दुई देशबीचको शान्ति प्रक्रिया फेरि अन्योलमा परेको छ ।
कतारको मध्यस्थतामा अप्रत्यक्ष संवाद जारी रहने भए पनि इरानले युद्धविरामका बाँकी सर्ता पूरा भएपछि मात्रै आणविक कार्यक्रमलगायतका संवेदनशील विषयमा छलफल गर्ने अडान राखेको छ ।यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई केही समय दिने निर्णय गरेका छन् । यद्यपि आवश्यक परे इरानमाथि थप सैन्य कारबाही गर्न सकिने चेतावनी उनले दोहोर्याइरहेका छन् ।
युद्धविरामपछि हर्मुज जलमार्गमा जहाज आवतजावत आंशिक रूपमा पुनः सुरु भए पनि इरानले अगस्टको मध्यदेखि जहाजबाट शुल्क उठाउने संकेत दिएको छ । गत साता युद्धविराम उल्लंघनको आरोपमा दुवै पक्षबीच फेरि सैन्य झडप भएपछि क्षेत्रीय तनाव अझै कायम रहेको छ ।