काठमाडौं - पर्यटनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् । सांसदहरूले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले न्यूनतम यात्रु संख्या नभएका जिल्लाहरूको विमानस्थल सञ्चालन गर्न नसकिएको स्पष्ट पारेका हुन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गरेका थिए । उनले विमानस्थल सञ्चालनका लागि सरकारसँग जनशक्ति र उपकरणको अभाव नभएको दाबी समेत गरे ।
मन्त्री पौडेलले सडकको सहज व्यवस्थाका कारण पनि हवाई यात्रुहरूको अभाव हुने अवस्था आएको बताए । उनले भने,‘विमानस्थल सञ्चालनको मुख्य समस्या भनेको यात्रुको अभाव रही आएको छ नेपालमा । करिब टोटलमा ५५ वटा विमानस्थहरू छन् । जसमा ३४ वटा विमानस्थलहरू सञ्चालन योग्य छन् । २१ वटा सञ्चालन योग्य छैनन् । अधिकांश पहाडी क्षेत्रको विमानस्थलहरूबाट आउने रिपोर्टहरू मध्ये पहिलो रिपोर्टमा नै यात्रु संख्यामा अभाव देखाउने गरिएको छ ।’
उनले अगाडि भने, ‘नेपाल नागरिक उडडयन प्राधिकरणबाट प्राप्त जवाफ अनुसार नै प्राविधिहरू चाहिएको खण्डमा त्यहाँ नियमित रूपमा उडान हुनेगरी न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति उपकरणहरू अवश्य पठाउने छौं । त्यसमा हामीलाई कुनै पनि प्रकारको कमी नरहेको अवस्था हो ।’