काठमाडौं– मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण अबको १० दिनपछि अर्थात् असार २७ गते अनिवार्य अवकाशमा जाँदै छन् । अर्यालले बिदा लिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शक्तिशाली सरकारभित्र अब कसलाई मुख्यसचिव बनाउने ? भन्ने विषयमा रडाको सुरू भएको छ ।
सत्तारुढ दलका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह दुवै जना ३०औं मुख्यसचिवका रुपमा आफ्नो ‘एस म्यान’ खोजिरहेको बताइएको छ । यसअघिका सरकारले वरीयताका आधारमा पहिलो नम्बरमा रहेका सचिवलाई मुख्यसचिव बनाउँदै आएकोमा यो पटक क्रमभंगता गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।
- असार २७ गते अनिवार्य अवकाशमा जाँदै मुख्यसचिव सुमनराज अर्याल
- सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह दुवै जना ३०औं मुख्यसचिवका रुपमा आफ्नो ‘एस म्यान’ खोज्दै
- वालेन्द्रले गृहसचिव राजकुमार श्रेष्ठदेखि नयाँ सचिवहरुलाई रोज्दा लामिछानेको प्राथमिकतामा अर्थसचिव घनश्याम उपाध्याय
प्रधानमन्त्री शाहले आफ्नो सचिवालयलाई नयाँ मुख्यसचिव बनाउन लायक पात्र खोज्न खटाइसकेको सचिवालयका एक सदस्यले बताए । वरीयताक्रममा अहिले किरणराज शर्मा शीर्ष स्थानमा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका शर्माको अवकाश पनि चाँडै हुने भएकोले उनलाई मुख्यसचिव नबनाउन प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने दुवै सहमत देखिन्छन् ।
मुख्यसचिवको प्रतिस्पर्धीमा शर्मासँगै र डा. गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय, गृहसचिव राजकुमार श्रेष्ठ, पूर्वाधारसचिव गोपालप्रसाद सिग्देल, उद्योगसचिव कृष्णबहादुर राउत, पर्यटनसचिव मुकुन्दप्रसाद निरौलादेखि लोकसेवा आयोगका सचिव रामेश्वर दंगालसम्म रहेका छन् । वरिष्ठताका आधारमा मुख्यसचिवको नियुक्ति गरियो भने शर्मा २०८४ कात्तिक अन्तिमसम्म पदमा रहने छन्, तर उनी मुख्यसचिव नभए पाँच वर्षे सेवा अवधिका कारण साउन ४ गते अनिवार्य अवकाशमा जाने छन् ।
वरीयताक्रममा शीर्ष तहमा रहेका सचिवहरुले प्रधानमन्त्री शाहको सचिवालयबाट मनोमानी भएको भन्दै मुख्यसचिव बन्ने इच्छासमेत नदेखाएको दाबी एक सचिवले गरे । ‘अहिले सबै सचिवालयले हेर्छ । एस म्यानको खोजीमा सचिवालय खटिरहेको हामीले जानकारी पाएका छौं । के हुँदै छ, कसले के गर्दै छ, केही थाहा हुँदैन,’ एक सचिवले प्रभावसँग भने ।
वालेन्द्रको जोड राजकुमारलाई
मुख्यसचिवका लागि प्रधानमन्त्री शाहको पहिलो प्राथमिकतामा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ रहेको स्रोतको भनाइ छ । २०७८ भदौ १६ मा सचिवमा बढुवा भएका उनी गोरखाका हुन् । गृहमन्त्री सुधन गुरुङकै जिल्लाबासी भएकोले उनलाई तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको पालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको थियो । श्रेष्ठ मुख्यसचिवका दाबेदार रविलाल पन्थ र रामेश्वर दंगालभन्दा पहिले सचिवमा बढुवा भएका हुन् ।
गत पुस १४ गते उनी गृहमा सचिवमा सरुवा भएका थिए । त्यतिबेला पनि सुधनको दबाबमा उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह सरुवा गरिएको बताइएको थियो । त्यसपछि प्रधानमन्त्री शाहको सचिवालयले रविलाल पन्थ र कृष्णबहादुर राउतलाई पनि प्राथमिकतामा राखेको बताइएको छ । रविलाल २०७८ असोज १९ गते सचिवमा बढुवा भएका थिए भने कृष्णबहादुर राउत २०७८ पुस २१ मा । राउत ललिता निवास प्रकरणमा २०८० तेस्रो हप्ता पक्राउ परेका थिए । सर्वोच्च अदालतले २०८० साउनको ५ गते उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
मुख्यसचिवको प्रतिस्पर्धामा रहेका रामेश्वर दंगाल २०७८ माघ १८ गते सचिवमा बढुवा भएका हुन् । दंगाल अर्थ मन्त्रालयमा कार्यरत थिए । यसअघि उनले आन्तरिक राजस्व कार्यालय, भन्सार विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवका रूपमा काम गरेका थिए । यता मुकुन्दप्रसाद निरौला भने २०७८ फागुन ५ मा सचिवमा बढुवा भएका हुन् ।
रविको रोजाइमा घनश्याम
रास्वपा स्रोतका अनुसार मुख्यसचिवमा सभापति लामिछानेको पहिलो रोजाइमा अर्थसचिव घनश्याम उपाध्याय रहेका छन् । २०८० असार १९ गते सचिवमा बढुवा भएका उपाध्याय २०५४ सालमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।
उपाध्यायलाई जेठको तेस्रो हप्ता प्रधानमन्त्री कार्यालयमै राखेर मुख्यसचिवमा बढुवा गर्ने तयारीसमेत चलेको थियो । यद्यपि, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रहमा अर्थमै राखिएको थियो । उपाध्याय ती सचिव हुन् जो काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदा लामिछानेले नयाँ नागरिकता पाएका थिए ।
उपाध्यायपछि गोविन्दबहादुर कार्की रविको दोस्रो रोजाइका उम्मेदवार हुन् । २०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की अर्थमन्त्रालय हुँदै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् । कार्कीलाई मुख्यसचिव बनाउन भन्दै रास्वपा नेताहरु लामिछानेकहाँ डेलिगेसनसमेत पुगेका छन् । कार्की वरीयताक्रममा किरणराजपछि छन् ।
सचिवहरू दुई तरिकाबाट अनिवार्य अवकाशमा जान्छन्– एउटा पाँच वर्षे सेवा अवधि पुगेर र अर्को ५८ वर्षे उमेरहदका कारण । निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (१) बमोजिम मुख्यसचिवलगायत सम्पूर्ण निजामती कर्मचारी ५८ वर्ष उमेर पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउँछन् । उमेर बाँकी नै रहे पनि मुख्यसचिवको पदावधि ऐनको दफा १७ को उपदफा (२) बमोजिम बढीमा तीन वर्ष हुन्छ ।
शर्मा मुख्यसचिव भएमा अहिले प्रतिस्पर्धामा रहेका बाँकी नौ सचिव उनीभन्दा अगाडि नै अनिवार्य अवकाशमा गइसक्छन् । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार मैनाली आगामी साउन १९, गोविन्दप्रसाद शर्मा आगामी साउन २५, डिल्लीराम शर्मा आगामी भदौ ३, श्रेष्ठ आगामी भदौ १६, सिग्देल आगामी असोज १४, पन्थ असोज १९, राउत पुस २१, दंगाल माघ १७ र निरौला आगामी फागुन ५ मा अनिवार्य अवकाशमा जाँदै छन् ।