काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। पौडेलकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी सक्कल मिसिल झिकाउन आदेश दिएको हो।
सर्वोच्चले तत्काल रिहा गर्ने आदेश नदिई अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएर थप सुनुवाइ अघि बढाउने निर्णय गरेको छ। उनी असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। उनीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पहिलोपटक सात दिन र त्यसपछि थप तीन दिन म्याद थप गरिएको छ।
यसअघि असार ११ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। इजलासले रिट निवेदकको मागबमोजिम किन आदेश जारी गर्न नपर्ने हो भन्ने आधार र कारण पेश गर्न विपक्षी पक्षलाई निर्देशन दिएको थियो।