काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा अनुशासन अपरिहार्य रहेको बताएका छन्। नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले खेलाडीले अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
अनुशासनबिनाको खेलको कल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रकृतिसमेत अनुशासनको नियममा सञ्चालन भइरहेको उदाहरण दिएका हुन् । ‘खेलाडीहरू अनुशासित हुन्छन्। बिनाअनुशासन खेल हुनै सक्दैन। अनुशासनको पालना नभए खेल बिग्रिहाल्छ,’ ओलीले भने, ‘प्रकृति नै अनुशासनमय छ। पृथ्वी, ग्रह र सूर्य सबै आ–आफ्नो नियममा चलिरहेका छन्। सिंगो ब्रह्माण्ड नै अनुशासित छ।’
पृथ्वीको उदाहरण दिँदै उनले समय र कक्षअनुसार पृथ्वी सञ्चालन हुने भएकाले अनुशासन प्रकृतिको आधारभूत विशेषता भएको उल्लेख गरे। ओलीले उमेर र शारीरिक अवस्थाअनुसार खेलकुदमा सहभागिता मानव जीवनका लागि महत्त्वपूर्ण हुने बताए। साथै नेपाली खेलाडीको शारीरिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारले खेल क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन नसकेको टिप्पणी गरे।
‘खेलको विकासका लागि नेपालीहरूको शारीरिक बनोट र स्वास्थ्यमा ध्यान दिनुपर्छ। खेलाडी खान नपाएर कमजोर हुने अवस्था हुनुहुँदैन। यसतर्फ सरकारले गम्भीर हुनुपर्छ,’ उनले भने। उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सम्बन्धी विवादप्रति संकेत गर्दै खेल क्षेत्रमा हस्तक्षेपभन्दा पनि संस्थागत सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। ‘टुप्पोमा परिवर्तन खोजेर हुँदैन, सुधार जरैदेखि हुनुपर्छ,’ उनले भने।
ओलीले एन्फालाई अन्तर्राष्ट्रिय प्रतिबन्धबाट जोगाउँदै नेपाली खेलाडीको प्रतिभालाई विश्वस्तरमा स्थापित गर्न नेपाल खेलकुद विकास महासंघले भूमिका खेल्नुपर्ने बताए। देशको समग्र अवस्था सबल नभएसम्म खेल क्षेत्रले मात्रै अपेक्षित प्रगति गर्न नसक्ने उनको भनाइ थियो।
फरक प्रसंगमा उनले ‘जेनजी आन्दोलन’लाई हिंसात्मक गतिविधिका रूपमा टिप्पणी गर्दै तोडफोड, हत्या र हिंसालाई वैधानिकता दिन खोजिएको आरोप लगाए। भूकम्प र कोभिड–१९ महामारीपछि मुलुकलाई पुनःउत्थान गर्ने प्रयास भइरहेका बेला हिंसात्मक गतिविधिले त्यसमा बाधा पुर्याएको उनको भनाइ थियो।