काठमाडाैं - राष्ट्रिय सभामा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफलको मिति तय भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको विधेयकमाथि आगामी असार १८ र १९ गते छलफल गर्ने समय तय गरिएको सोमबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिएका हुन् ।
अध्यक्ष दाहालले असार १८ र १९ गते विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने र त्यसपछि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरेको जानकारी बैठकमा गराएका हुन् । छलफलमा उठेका प्रश्नहरूको मन्त्रीहरूले असार २२ र २३ गते जवाफ दिने गरी समय निर्धारण गरेको दाहालले बताए।
अध्यक्षले छलफलमा भाग लिन चाहने सांसदहरूलाई आफ्नो नाम दलीय आधारमा उपलब्ध गराउन पनि अध्यक्ष दाहाले आग्रह गरे । छलफलमा सहभागी हुन चाहने सदस्यहरूले छलफल हुने दिनभन्दा एक दिन अगावै राष्ट्रिय सभाको कार्यव्यवस्था शाखामा नाम दर्ता गराउनुपर्ने उनले बताए ।