काठमाडाैं- १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य बनाएको भन्दै सांसद रेनुका काउचाले प्रश्न उठाएकी छन् । उनले आइतबार प्रतिनिधिसभाको बैठकमा उठाएकी हुन् ।
सांसद रेनुका काउचाले संविधान र ऐनले बालबालिकालाई पार्टी सदस्य बन्न नदिने बताइन् । उनले भनिन् ,‘रास्वपाको सदस्यता लिनेको फेहरिस्त हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार हजार २५७ हुनुहुँदो रहेछ । औपचारिक रुवपमा नै घोषणा गरिएको यो सवालप्रति कांग्रेसको ध्यान गएको छ ।'
‘रास्वपा संविधानभन्दा माथि छ ?’, उनले प्रश्न गरिन् । कानुनत: कुनैपनि राजनीतिक दलको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ । यस्तो व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ मा नै छ । तर, यो ऐनको व्यवस्थाभन्दा फरक रास्वपाले आफ्नो महाधिवेशनमा करिब ३५ हजार बालबालिकालाई आफ्नो सदस्यको सूचीमा राखेको विवरण बाहिरिएपछि प्रश्न उठेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनमा दलको सदस्यता तथा संगठनात्मक संरचनासम्बन्धी व्यवस्था छ । दफा १४ मा सदस्यताको योग्यताको विषय छ । जसअनुसार नेपाली नागरिकले मात्रै नेपालको राजनीतिक दलको सदस्यता लिन पाउँछन् । साथै अठार वर्ष उमेर पूरा भएको हुनुपर्ने बाध्यकारी व्यवस्था छ । यस्तो कानुनी व्यवस्था विपरीत रास्वपाले बालबालिकालाई समेत सदस्यता दिएको भनेर संसद्मै प्रश्न उठेको हो ।