
सिन्धुपाल्चोक- सामाजिक सेवामार्फत उद्देश्यपूर्ण यात्राको सन्देश फैलाउँदै वाण्डरिङ ट्रेल ह्युम्यानिटीले सिन्धुपाल्चोकमा कला, सीप कार्यशाला तथा दन्त स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ। जिल्लाको लिसंखु पाखर-१ स्थित श्री धर्मोदय माध्यमिक विद्यालयमा कला तथा सीप कार्यशाला र दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको हाे।
विद्यार्थी तथा स्थानीय समुदायमा सिर्जनशीलता अभिवृद्धि गर्ने, व्यावहारिक सीप विकास गर्ने र मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा कला तथा सीप कार्यशालाको सञ्चालन तथा समन्वय सुजन बुढाथोकीले गरेका थिए। दन्त स्वास्थ्य शिविरको नेतृत्व दन्त चिकित्सक डा. प्रवेश कोइरालाले गरेका थिए । कार्यक्रमको समग्र व्यवस्थापन वाण्डरिङ ट्रेल एडभेन्चर्स प्रालिका प्रबन्ध निर्देशक तथा कार्यक्रम व्यवस्थापक रिकेश कोइरालाले गरेका थिए । त्यस्तै, अमेरिकामा रहेका शरद अर्यालले स्वयंसेवी सूचना-प्रविधि संयोजकका रूपमा सहयोग गरेकी थिइन्।
यस कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा स्वयंसेवकहरूप्रति वाण्डरिङ ट्रेल ह्युम्यानिटीले हार्दिक आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।