महेन्द्रनगर- मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिताको विश्वासनीयता, मर्यादा र व्यावसायिकता अभिवृद्धिका लागि सञ्चारकर्मीले आचारसंहिता, भाषा र शैलीको पालना गर्दै तथ्यपरक, निष्पक्ष र उत्तरदायी पत्रकारिता गर्नुपर्ने बताएका छन् ।
मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित ‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ उद्घाटन गर्दै मन्त्री महतोले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र जिम्मेवार प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले सञ्चारमाध्यमले समाजमा सही सूचना प्रवाह गर्दै जनविश्वास कायम राख्नुपर्नेमा जोड दिँदै पत्रकारिता पेसालाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक धारणा राखे ।
मन्त्री महतोले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकाससँगै सूचना सम्प्रेषणको गति बढेको उल्लेख गर्दै त्यससँगै गलत, अपुष्ट र भ्रामक सूचना फैलिने चुनौती पनि बढेकाले पत्रकारले समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, भाषिक शुद्धता र पत्रकारिताको आचारसंहितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए। विश्वसनीय पत्रकारिताले मात्र नागरिकको विश्वास जित्न सक्ने भएकाले सञ्चारकर्मीले पेसागत मर्यादा र नैतिकतालाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धर्मेन्द्र झाले समाचार लेखनमा तथ्यपरकता, सन्तुलन, भाषिक शुद्धता र सम्पादकीय अनुशासनको महत्वबारे प्रकाश पार्दै पत्रकारिताको मूल आधार विश्वसनीयता रहेको बताए । उनले समाचारमा प्रयोग हुने भाषा सरल, स्पष्ट र सबैले बुझ्ने खालको हुनुपर्ने तथा पत्रकारले सत्यतथ्य पुष्टि नगरी सूचना सम्प्रेषण गर्न नहुने विचार व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताको पेसागत मर्यादा जोगाउन पत्रकार स्वयं जिम्मेवार हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि जोडिएको उल्लेख गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट पत्रकारिताप्रति जनविश्वास थप मजबुत हुने विचार व्यक्त गरे।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारेले पत्रकारको क्षमता अभिवृद्धि, पेसागत सुरक्षा तथा जिम्मेवार पत्रकारिता प्रवर्द्धनका लागि यस्ता अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताए । उनले पत्रकारिताको गुणस्तर अभिवृद्धिका लागि राज्य, सञ्चारसम्बन्धी निकाय र सञ्चारकर्मीबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्काले डिजिटल माध्यमको विस्तारसँगै सञ्चार क्षेत्र नयाँ अवसर र चुनौती दुवैबाट गुज्रिरहेको उल्लेख गर्दै पत्रकारले प्रविधिको सदुपयोगसँगै नैतिकता र व्यावसायिक मापदण्डलाई समान महत्व दिनुपर्ने बताए । कार्यक्रमको अध्यक्षता गर्दै मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाले पत्रकारितालाई थप विश्वसनीय, मर्यादित र व्यावसायिक बनाउन आचारसंहिता तथा भाषा-शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताए । उनले पत्रकारको क्षमता विकास, समाचारको गुणस्तर अभिवृद्धि तथा जिम्मेवार सञ्चार अभ्यासलाई संस्थागत गर्न मिडिया काउन्सिलले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।
एकदिने अभिमुखीकरण कार्यक्रममा जिल्लाबाट सहभागी पत्रकारलाई पत्रकारिताको आचारसंहिता, समाचार लेखन, भाषा तथा शैली, तथ्य परीक्षण, सम्पादकीय जिम्मेवारी, डिजिटल पत्रकारिताका चुनौती तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा विज्ञद्वारा सहजीकरण गरिने जनाइएको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सञ्चारसम्बद्ध निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।