काठमाडाैं- ‘जलवायु उत्थानका लागि आदिवासी सञ्चारको क्षमता सुदृढीकरण:राष्ट्रिय सञ्चार साक्षरता तथा नीतिगत वकालत सम्मेलन’ लुम्बिनीमा सम्पन्न भएको छ। आदिवासी जनजाति तथा स्थानीय समुदायको जलवायु न्याय र अधिकार सुदृढीकरणमा सञ्चारको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम सम्पन्न भएकाे हाे ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित डीजीएम नेपाल को आयोजनामा सम्पन्न सम्मेलनमा सातै प्रदेशका पत्रकार, नीति निर्माता, विषयविज्ञ, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता डीजीएम नेपाल राष्ट्रिय सञ्चालन समितिका सदस्य तथा फोनिज अध्यक्ष गजुर्धन राईले गरेका थिए। कार्यक्रममा नेफिनका महासचिव दिवस राई तथा फिन्फीका प्रमुख सल्लाहकार अमृतबहादुर सुनुवारलगायतको उपस्थिति रहेको थियो।
डीजीएम नेपालकी कार्यक्रम अधिकृत साधना साम्बा लिम्बुले आदिवासी सञ्चारलाई परिधिमा रहेका समुदायको आवाज केन्द्रसम्म पुर्याउने प्रभावकारी माध्यम भएको बताए।
सम्मेलनमा जलवायु न्याय, दिगो विकास, नीतिगत वकालत, अनुसन्धानमूलक पत्रकारिता, आदिवासी सञ्चारकर्मीका पेसागत चुनौती तथा सञ्चारमा समावेशिताका विषयमा छलफल भएको थियो।
सम्मेलनले नीति निर्माणमा आदिवासी सञ्चारको प्रभावकारिता बढाउने, सञ्चारमाध्यम, नीति निर्माता र नागरिक समाजबीच समन्वय सुदृढ गर्ने तथा जलवायु न्यायका सवालमा आदिवासी समुदायको आवाजलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ।