काठमाडाैं- आदिबासी जनजाति पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम भएको छ । आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना र आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
बाराको सिमरामा आयोजित प्रशिक्षण कार्यक्रममा आदिबासी पत्रकारको क्षमता अभिबृद्धिका लागि प्रशिक्षकहरुले ज्ञान र सीप आदानप्रदान गरेका हुन् । प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु आदिबासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा लामा ह्योल्मो, फोनिजका सल्लाहकार अमरध्वज लामा, फोनिजका अध्यक्ष लक्की चौधरीले प्रशिक्षण दिए ।
प्रशिक्षण कार्यक्रममा आदिबासीको अधिकार, सञ्चार माध्यममा उठ्नुपर्ने विषय, पत्रकारले खेल्नुपर्ने भूमिका बारेमा जानकारी गराए । आदिबासीको जल, जंगल, जडिबुटी, भूमि, संस्कार संस्कृति, संवैधानिक अधिकार कार्यान्वयनमा भइरहेको ढिलाइ, कानुन निर्माणमा ढिलाइ, चौथो अङ्गको सुरुवात र त्यसको औचित्य, आदिबासीका विषय समाचारका विषय बन्न नसक्नुका कारण र आदिबासी पत्रकारले आदिबासीको इस्यूमा गर्नुपर्ने पैरवीबारेमा जानकारी गराएका थिए।
त्यस्तै, आइएलओ महासन्धी १६९, मानवअधिकार सम्बन्धको विश्वव्यापी घोषणापत्र, संवैधानिक अधिकारको कार्यान्वयनको अवस्थाबारेमा पत्रकारलाई जानकारी गराएका थिए । सरकारसँग आदिबासी समुदायले यसअघि गरेको सम्झौता र त्यसको कार्यान्वयनको अवस्थाबारेमा संक्षेपमा जानकारी गराइएको थियो ।
प्रशिक्षण कार्यक्रममा मधेस प्रदेशको आठ जिल्लाका आदिबासी पत्रकार, फोनिजका संघीय समितिका सदस्य गरी करिब एकसय ४० जनाभन्दा बढी पत्रकारको सहभागिता थियो । कार्यक्रम आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाको सभापतित्वमा भएको थियो ।