काठमाडाैं - चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी,रास्वपाको महाधिवेशनअन्तर्गत दोस्रो चरण अर्थात् पदाधिकारीका लागि पनि मतदान हुने जनाइएकाे छ । पहिलो चरणमा मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेसम्ममा अघि बढ्ने आयोगले जनाएको हाे
पार्टीका प्रवक्ता मनिष झाका अनुसार ९९ जना निर्वाचित केन्द्रीय सदस्यहरूले दोस्रो चरणमा हुने निर्वाचनमार्फत पदाधिकारीहरू छान्नेछन् एक जना प्रतिनिधिले पदाधिकारीका लागि करिब ४ देखि ५ मिनेट मतदानका लागि लगाउने उनले बताए ।रास्वपाका अर्का नेता विपिन आचार्यका अनुसार, ६ पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
खुला उपसभापति–१, महिला उपसभापति–१, खुला महामन्त्री–१ र खुला सहमहामन्त्री–२ र महिला सहमहामन्त्री–१ पदका लागि निर्वाचन हुन लागेको हो । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गते चितवनमा सुरु भएको हो।
रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि पहिलाे चरणा मतदान सम्पन्न भएको छ । रास्वपा चितवनका सभापति मिनीमाधव खनालका अनुसार महाधिवेशनमा चार हजार १०० प्रतिनिधि रहेकामा दुई हजार ९५० मत खसेको अनुमान गरिएको छ ।
विद्युतीय मेसिनबाट मतदान भएकाले निर्वाचनको परिणाम दुई घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।