काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अंकले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको हाे ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४८ अंकले ओरालो लागेर ४६४ दशमलव ६४ मा सीमित भएको छ । कारोबार भएकामध्ये ८० कम्पनीको शेयर मूल्य उकालो लाग्दा १७७ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । यद्यपि, १५ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
कुल ३५५ कम्पनीको एक करोड सात लाख आठ हजार ५९६ कित्ता शेयर चार अर्ब चार करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ मूल्यमा खरिद-बिक्री भएको छ । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिद्धार्थ बैंक, रिलायन्स स्पिनिङ मिल्स, रावा इनर्जी डेभलपमेन्ट र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, डोल्टी पावर कम्पनी, बुङ्गल हाइड्रोपावर र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, सयपत्री हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, एनआइएमबी डिवेञ्चर, कालिञ्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले भने गुमाएका छन् ।