काठमाडौं- पर्वतारोहण सञ्चालक संघ नेपाल (ईओएएन) अन्तर्गत खटिएको १३ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान करिब १०ः२५ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाल सरकार, पर्यटन विभाग र ईओएएनको झण्डा फहराउँदै २०२६ सालको वसन्त ऋतु पर्वतारोहण सिजनका लागि आधिकारिक रूपमा आरोहण मार्ग तयार गरेको हो ।
मार्ग निर्माण तथा डोरी टाँग्ने कार्य सम्पन्न भएसँगै यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण अभियान औपचारिक रूपमा सुरु भएको संघले जनाएको छ । प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली शेर्पा समुदायले पुनः आफ्नो साहस, क्षमता र समर्पण प्रदर्शन गरेको छ ।
बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीमा मिङमा दोर्जी शेर्पा, पासाङ तेन्जिङ शेर्पा, पाम दोर्जी शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, फुर्टेन्जिङ शेर्पा, गुरु भोते, मिङमा तेन्जे शेर्पा, मिङ टेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पा सहभागी रहेका थिए ।
संघका महासचिव ऋषि भण्डारीले उक्त ऐतिहासिक कार्यमा सहभागी सम्पूर्ण आरोही तथा शेर्पा टोलीप्रति सम्मान, कृतज्ञता र बधाई व्यक्त गरेका छन् ।