काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले राजीनामा दिने भएका छन् । राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने गरी सरकारकाे अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस भएछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन् ।
त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् । त्रिवि स्रोतका अनुसार, बिहीबार बिहान त्रिविका पदाधिकारीको बैठक बसेको थियो ।‘नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्न लाग्नु भएको हो,’ त्रिविका एक अधिकारीले भने, ‘राजीनामा दिने तयारी छ ।’
विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने तयारी छ । उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।
शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।