नुवाकोट- ‘भाषा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहास खोजी हाम्रो अभियान’ भन्ने नारालाई सार्थकता बनाउन विश्वभर छरिएर रहेका तामाङ जातिभित्रको ग्लानहरुको पुर्ख्यौली भूमि नुवाकोट गोल्फु नम्सापुरानमा विशेष कार्यक्रम हुने भएको छ।
आउदो १८ गते ग्लानहरूको उद्गम थलो दुप्चेश्वर गाउँपालिका वडा नं. ४ स्थित गोल्फु नम्सापुरानमा निर्माण सम्पन्न भएको सांस्कृतिक भवन ‘ग्लान डारदीम’ को उद्घाटन तथा ग्लान समाज नेपालको प्रथम राष्ट्रिय सम्मेलन हुन लागेको हो।
ग्लानको ऐतिहासिक पहिचान र पुर्ख्यौली थातथलो (बाब्सा) लाई जोगाउने उद्देश्यले निर्माण गरिएको ‘ग्लान डारदीम’ संग्राहलयको रुपमा अघि बढाउने भएको छ । ङारदीम निर्माणका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संघीय सरकारको बजेट विनियोजन गरिएको थियो ।
यसर्थ ङारदीमलाई संघीय सरकारबाट ९० लाख र दुप्चेश्वर गाउँपालिकाबाट ९ लाख गरी निर्माण सम्पन्न भएको हो ।आयोजक समितिका संयोजक अर्जुनबहादुर तामाङ अनुसार सम्मेलनले विश्वभर छरिएर रहेका ग्लानहरूलाई एउटै सूत्रमा बाँध्न र आफ्नो पुर्ख्यौली थलोको संरक्षण संवर्द्वन गर्दै सांस्कृतिक धरोहरको पहिचानलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ ।