खोटाङ- रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको र पाँच करोड ११ लाख ४६ हजार रुपैयाँमा पुल निर्माणको काम सुरु गरिएको हो ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत ठेक्का आह्वान गरिएकामा आरके देन्धुप जेभी सोलुखुम्बुले दुई करोड ८९ लाख ७५ हजार रुपैयाँमा बजेटमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिएका छन् । निर्माण कम्पनीसँगको सम्झौताअनुसार विसं २०८४ जेठभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण कम्पनीसँगको सम्झौताअनुसार १५ मिटर लामो मोटरेबल पक्की पुल निर्माण गरिने छ । लोचाखोलामा निर्माण हुने मोटरेबल पक्की पुलले रावाबेँसी गाउँपालिका-१ कुभिण्डे र सोही गाउँपालिकाको वडा नं ६ हौँचुरका स्थानीयलाई आवतजावतमा सहज अपेक्षा गरिएको छ ।
सम्झौता गरेको केही दिन पछिबाट निर्माण सुरु गरिएको लोचाखोला पुलको औपचारिक शिलान्यास शनिबार कोशी प्रदेश सरकारको निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले गरेका छन् । लोचाखोलामा पुल नहुँदा समस्या झेल्दै आएका स्थानीय ढिलै भए पनि प्रदेश सरकारको लगानीमा मोटरेबल पक्की पुल निर्माण हुने भएपछि हर्षित भएका छन् ।
भौगोलिक रूपमा खोला तथा कोशीले घेरिएको खोटाङमा मोटरेबल पक्की पुलको अभाव रहेको उनले उल्लेख गरे । “जिल्लाका धेरै स्थानमा मोटरेबल पक्की पुल आवश्यक भए पनि अत्यावश्यक नाकामध्ये लोचाखोलालाई प्राथमिकतामा राखेर काम अघि बढाएका छौँ । यहाँ ठाडो र लामो शिर भएको खोला भएकाले आवतजावतमा धेरै समस्या थियो । यो समस्या समाधान गर्न बजेट विनियोजन गरेर पुल निर्माणको काम सुरु गरिएको छ”, प्रदेश मन्त्री राईले बताए ।
समयमै गुणस्तरीय काम गरेर पुल निर्माणको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि प्रभावकारी अनुगमन गर्न अनुरोध गरिएको छ । निर्माण व्यवसायी बुद्धिबहादुर मगरले पुल निर्माणकार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“खोलामा धेरै अवरोध छैन । निर्माणकार्य सहज हुने देखिएको छ । म आफैँ निर्माणस्थलमा बसेर काम गर्ने र समयमै काम सम्पन्न गरेर जिम्मा लगाउने योजनामा छु”, उनले भने,“पुलका लागि आवश्यक निर्माण सामग्री ल्याइसकिएको छ । अब तीव्रगतिमा निर्माणको काम अघि बढ्छ ।”
लोचाखोलाले हरेक वर्ष स्थानीयलाई बगाउने गरेको । हरेक वर्षामा सवारीसाधन वारपार गर्नका लागि श्रमदानमार्फत काठको पुल पनि निर्माण गर्नुपर्ने छ । लोचाखोलामा पुल निर्माण भइसकेपश्चात् सबै समस्या अन्त्य हुने स्थानीयले बताएका छन् ।