चितवन- अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर मरेका छन् । इच्छाकामना गाउँपालिकास्थित दुईवटा फार्म र भरतपुर महानगरपालिकाको एउटा फार्मका बङ्गुर मरेका हुन् ।
भरतपुर महानगरपालिकाको थप एउटा फार्ममा समेत फिभरको लक्षण देखिएपछि नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो ।
रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको -याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमण खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता चप्पल आदि प्रयोग गर्दा सर्न सक्ने न्यौपानेले जानकारी दिए ।
यो रोग लागेका बङ्गुरहरु एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डामहरु देखापर्ने, कानका टुप्पाहरुमा रगत जमेका धब्बाहरु देखिने, नाकबाट फिज निकाल्ने, रोग सङ्क्रमित सुँगुर-बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिनेजस्ता लक्षणहरु देखापर्ने उनले बताए ।
यस रोगबाट बच्न बङ्गुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बङ्गुरको खोरमा अनावश्यक मानिसको आवत-जावत रोक्ने, बङ्गुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्नेजस्ता उपायहरु अपनाउनुपर्ने कार्यालयले जनाएको छ । बाहिरको बथानबाट नयाँ बङ्गुर ल्याएमा सिधै फार्ममा रहेका बङ्गुरसँग नमिसाई २१ दिन क्वारेन्टाइनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बङ्गुरको खोर फार्म र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले निःसङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्नेजस्ता कार्य गर्दा क्षति कम हुने न्यौपानेको भनाइ छ ।