Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • शान्तिपूर्ण निर्वाचन, ६० प्रतिशत मतदान
शान्तिपूर्ण निर्वाचन, ६० प्रतिशत मतदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २२, २०८२
  • मतदाताको उत्साहपूर्ण सहभागिता तर इतिहासकै न्यून मतदान
  • देशभर कतै पनि भएन निर्वाचन स्थगित
  • छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण
  • प्रधानमन्त्रीले दिइन् जनतालाई बधाइ
  • निर्वाचन सफल भएकोमा राष्ट्रपति खुसी
  • प्रमुख दलका नेताहरुले दिए सरकार, निर्वाचन आयोग र सरोकारवालालाई धन्यवाद
  • भारत र अमेरिकाद्वारा नेपाललाई बधाइ
  • काठमाडौंमा मतगणना सुरु, अन्य जिल्लामा आज

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन देशभर शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहीबार भएको यस निर्वाचनमा मतदाताहरु उत्साहपूर्वक सहभागी भएका थिए । निर्वाचन आयोगले देशभरि करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । मतदानपछि बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त जानकारी दिएका हुन् ।

बिहीबारको निर्वाचनमा खसेको मत २०४८ सालयताकै सबैभन्दा न्यून हो । वि.सं. २०७९ को निर्वाचनमा ६१.६३ प्रतिशत, २०७४ मा ६८.६७ प्रतिशत, २०७० मा ७८.३४ प्रतिशत, २०६४ मा ६१.७० र २०५६ मा ६५.७९ प्रतिशत मत खसेको थियो । त्यसअघि २०५१ मा ६१.८६ प्रतिशत र २०४८ मा ६५.१५ प्रतिशत मतदान भएको थियो ।

यस पटकको निर्वाचनमा एक करोड ९० लाख नागरिक मतदानका लागि योग्य थिए । तर, यसमध्ये करिब ४० प्रतिशत मतदाता मतदानमै सहभागी भएनन् । निर्वाचनबाट भने प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना सांसद चुनिँदै छ । प्रत्यक्षतर्फ राजनीतिक दलका र स्वतन्त्रसमेत गरी तीन हजार ४०५ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

कतै पुनःनिर्वाचन गर्नु नपर्ने
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कहीँ पनि पुनः निर्वाचन गर्नुपर्ने अवस्था नभएको बताएका छन् । देशभरको १६५ वटै प्रतिनिधिसभा क्षेत्रमा शान्तिपूर्णरूपमा मतदान भएकाले फेरि निर्वाचन गर्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । विगतका हरेक निर्वाचनमा कहीँ न कहीँ फेरि मतदान गर्नुपर्ने अवस्था आउँथ्यो । यसपटक भने त्यस्तो अवस्था नभएको भण्डारीले बताए ।

Hardik health

प्रधानमन्त्रीले दिइन् नेपाली जनतालाई बधाइ
प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिकरूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सञ्जाल (फेसबुक)मार्फत भनेकी छन्, ‘निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान व्यक्त गरेकी छन् । त्यसैगरी राष्ट्रपतिले निर्वाह गरेको अभिभावकीय भूमिकाका लागि प्रधानमन्त्री कार्कीले कृतज्ञता व्यक्त गरेकी छन् ।

‘एक थोपा पनि रगत नबगी’ निर्वाचन सम्पन्न 
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषाबमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका छन् ।

लोकतान्त्रिक प्रक्रियाको महŒवपूर्ण अभ्यासका रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले यस निर्वाचनका माध्यमबाट संविधान कार्यान्वयन एवं नेपाली जनताले प्राप्त गरेको हकअधिकारको संस्थागत गर्नमा महŒवपूर्ण उपलब्धि हासिल भएको बताए ।

मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तरराष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । उनले निर्वाचनको मतदानपश्चात् मतगणनाको कार्यमा सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

गृह मन्त्रालयकी प्रवक्ता रमा आचार्यले छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको बताइन् । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा निर्वाचनसम्बन्धी कन्ट्रोल रुम सञ्चालन गरेको पनि उनले बताएकी छन् ।

दुई राउण्ड हवाई फायर
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सुरक्षाकर्मीले कहीँ पनि बल प्रयोग गर्नुपरेन । दुई राउण्ड हवाई फायर र एक राउण्ड असावधानीपूर्वक गोली चलेकोबाहेकका घटना भएन । 

प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका-४ मा रहको गोल्मेश्वर मावि मतदान केन्द्रमा बिहीबार बिहान मतदान कर्मचारी र दलका कार्यकर्ताबीच उत्पन्न विवादमा कर्मचारीमाथि हातपात भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर भएको थियो । निर्वाचनमा जहिल्यै विवाद हुने जिल्ला भनेर चिनिने दोलखाको उक्त मतदान केन्द्रमा केही मतपत्र भने हरायो । मतदान केन्द्रमा दलहरूले खटाएका केही एजेन्ट पक्राउ परे । विवाद झनै बढ्यो र मतदाताहरूसँगै दलका प्रतिनिधिहरू फर्किए । यद्यपि, मतदान सुचारु गर्ने दलीय सहमति भयो र स्थगित भएको करिब ६ घण्टापछि मध्याह्न ४ बजेपछि मतदानले निरन्तरता पाएको प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । 

यस्तै, उदयपुरको कटारी नगरपालिका-३ स्थित तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला ‘ख’ मतदान केन्द्रमा प्रहरी जवानले बोकेको सटगन उनी लड्दा पड्केको थियो । त्यसले मतपेटिकामा क्षति पुग्यो तर मतपत्र सुरक्षित भयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार दोलखा र उदयपुरबाहेक अन्यत्र गोली चलेन । बल प्रयोग पनि कहीँ गर्नु परेन । 
हिमाली तथा दुर्गममा मतगणना आज
प्रतिनिधिसभा निर्वाचनको मतगणना दुर्गम र हिमाली क्षेत्रमा आज गरिने भएको छ । हेलिकप्टरबाट मतपेटिका संकलन गर्नुपर्ने भएकाले आज मात्रै मतगणना सुरु गर्न सकिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले भने, ‘हामी सबै मतपेटिका संकलन गर्दै छौं । विकट र दुर्गम ठाउँबाट हेलिकप्टरमासमेत मतपेटिका ओसार्न समय लाग्छ र आजदेखि मात्रै ती जिल्लाहरूमा मतगणना हुन्छ ।’

सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ वटा मतदानस्थल,  गण्डकी प्रदेशका ३२ वटा मतदानस्थल, बागमतीका रसुवा, दोलखा र धादिङका केही मतदान केन्द्रका मतपेटिका केन्द्रमा ल्याएर मात्र मतगणना गरिने छ । लुम्बिनी प्रदेशस्थित रुकुमपूर्वका सातवटा मतदानस्थलमध्ये केही, कर्णाली प्रदेशका हुम्ला, डोल्पा र रुकुम पश्चिमका सबै ४० वटा मतदानस्थलका मतपेटिका ल्याइसक्न बाँकी छ । सुदूरपश्चिमको दार्चुला, बाजुरा र बझाङका २० वटा मतदानस्थलका मतपेटिका पनि आजमात्रै ल्याइसकिने र मतगणना थालिने भण्डारीले बताए । 

दार्चुला, ओखलढुंगा र दाङमा ‘नो भोट’
दार्चुुलाको दुई मतदान केन्द्रमा मतदाताले निर्वाचन बहिष्कार गरेका छन् । नौगाड गाउँपालिका-१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका-३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । निर्वाचन कर्मचारीहरू रित्तो मतपेटिका बोकेर सदरमुकाम खलंगा फर्किएका छन् । नागुमा मतदान केन्द्रमा ६०२ जना मतदाता र झुस्कु मतदान केन्द्रमा ३४६ जना मतदाता थिए । 

उनीहरूले एक महिनाअघि नै नागुमा सडकलगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । उनीहरूलाई मतदानमा सहभागी हुनका लागि जिल्लास्थित राजनीतिक दलसँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए । मतदाताहरू भने अडानमा अडिक रहे । दुवैमा निर्वाचन कर्मचारीहरूले भने मतदान गरे ।

निर्वाचन बहिष्कार भएको ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ को टोक्सेलमा रहेको सातसल्ले मतदान केन्द्रमा पनि हो । त्यहाँ एक जना पनि मतदाताले यसपटक मतदान गरेनन् । निर्वाचनमा खटिएका चार जना कर्मचारीबाहेक स्थानीयले मतदान नगरेपछि त्यसै कर्मचारीहरू फर्किएका छन् । त्यहाँका मतदाताहरूले गाउँपालिकाको वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन् । 

दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-३ को बबई गाउँपालिकाको जिला आधारभूत विद्यालय मतदान केन्द्रमा पनि एक मत खसेन । त्यहाँ ६४० जना मतदाता छन् । उनीहरू सबै प्रतिनिधिसभा निर्वाचनमा उनीहरू ‘नो भोट’को पक्षमा उभिए । यस ठाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । बर्दिया राष्ट्रिय निकुञ्जलगायत विभिन्न निकुञ्जको मध्यवर्ती क्षेत्रका वासिन्दाहरू बाघबाट असुरक्षित बन्दै गएको अवस्थामा आफूहरूलाई छिटो सुरक्षित ठाउँमा स्थानान्तरण गर्न प्रधानमन्त्रीसँगै माग गरेका थिए । तर, बस्ती स्थानान्तरणको माग सम्बोधन नहुँदा रुष्ट उनीहरूले मतदान नगरेको वडाध्यक्ष प्रेमकुमार डाँगीले बताए ।

चुनाव सफल भएकोमा खुसी
प्रतिनिधिसभा निर्वाचन देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा राष्ट्रपतिदेखि प्रमुख राजनीतिक दलका नेतृत्वहरुले खुसी व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्पन्न भएकोमा सन्तोष प्रकट गरेका छन् । उनले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित आमनागरिकलाई धन्यवाद दिए । जेन-जी विद्रोहपछिको अन्योलपूर्ण राजनीतिक परिस्थितिलाई चलाखी र बुद्धिमतापूर्वक सम्हाल्दै उनले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गर्दै देशलाई निर्वाचनको बाटोमा धकेलेका थिए । तोकिएकै समयमा बिहीबार निर्वाचन सम्पन्न भएपछि राष्ट्रपति पौडेल खुसी भएका हुन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् । मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा सहभागी भएर अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका हुन् ।

‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरूको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ,’ सभापति थापाले भने । छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन भएको भन्दै उनले सरकार र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरे । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत देशभर आमरूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका हुन् । ‘निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद,’ उनले भनेका छन् ।

सरकारले निर्वाचन घोषणा गर्दा सुरुमै स्वागत गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले निर्वाचनले लोकतन्त्रलाई थप मजबुत बनाएको बताएका छन् । उनले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज एवं सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरे । आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबैपक्ष मिलेर अघि बढ्ने उनले बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएकोमा सम्बद्ध सबैलाई धन्यवाद दिएको छ । सभापति रवि लामिछानेले बिहीबार विज्ञप्ति जारी गरी चौतर्फी चुनौतीका बाबजुद् निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्ने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद ज्ञापन दिएका हुन् । उनले निर्वाचन परिणामले जेन-जी पुस्ताको लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र सुशासन राखेको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने रास्वपाले आशा तथा विश्वास गरेको बताए ।

रास्वपाकै वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री कार्कीको नेतृत्वमा बिहीबार लोकतन्त्रले जितेको बताए । बिहीबार साँझ मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

भारत र अमेरिकाको बधाइ
दक्षिणी छिमेकी भारतले प्रतिनिधिसभा निर्वाचनमा नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा खुसी व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र निर्वाचनमा संलग्न सबै सरोकारवाला पक्षलाई बधाइ दिएको बताए ।

उनले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा नेपालसँगै सहकार्य जारी राख्ने स्पष्ट पारे । निर्वाचनपछि गठन हुने सरकारसँग मिलरे काम गर्न भारत इच्छुक रहेको पनि उनको भनाइ छ ।

यसैगरी संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै निर्वाचन सम्पन्न भएकोमा बधाइ दिएको छ । ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौं,’ नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


 


प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP