काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज झापा नपुग्ने भएका छन् । बिहान उनलाई लिएर झापा हिँडेको हेलिकोप्टर सुरक्षा चुनौति देखाइएपछि बीचबाटै फर्काइएको थियो ।
बालेनको सचिवालयका अनुसार उनी आज काठमाडौंमै रहने छन् । भोलि बिहान झापा जाने कार्यक्रम तय भएको बालेनका निकट सहयोगी कुमार बेनले जानकारी दिए । बेनका अनुसार केबाट जाने भन्ने निधो भइसकेको छैन ।
साहलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर काठमाडौं फर्काइनुमा सुरक्षाको कारण देखाइएको छ ।‘सुरक्षाका कारण झापामा अवतरण नगर्न सुझाव आएपछि हेलिकोप्टर फर्काइएको बालेनको सचिवालयले बतायो ।बालेनका निकट सहयोगी कुमार बेनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘हामीले हिजै निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका थियौं । तर, आज उडान भइसकेपछि सुरक्षाको इस्यूले गर्दा यता ल्यान्ड नगरिदिनु होला, निर्वाचनमा समस्या पर्न सक्छ भनेर अनुरोध गरियो । त्यसैले फिर्ता भएका हौं ।’
आफूहरु झगडा गर्ने र तनाव निम्त्याउने मुडमा नभएकाले बीचबाटै फर्किएको उनको भनाइ छ ।बालेन हेलिकोप्टरबाट झापा आउन लागेको सूचनापछि एमालेका नेता-कार्यकर्ताहरुले निर्वाचन कार्यालयमा उजुरी गरेका थिए । निर्वाचन आचारसंहिता अनुसार हेलिकोप्टर प्रयोग गर्न नपाइने उनीहरुको भनाइ थियो । यद्यपि, बालेनले निर्वाचन आयोगसँग स्वीकृति लिएर नै हेलिकोप्टर प्रयोग गरेको सचिवालयको भनाइ छ ।
बालेनले रास्वपाबाट झापा ५ मा उम्मेदवारी दिएका छन् । उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिद्वन्द्वी हुन् ।