काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन मूल समारोह समिति गठन गरेको छ ।
एसोसियसनले आज एक विज्ञप्ति जारी गरी एसोसिएसनका केन्द्रीय अध्यक्ष दीपक थापाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन मूल समारोह तथा प्रचारप्रसार समिति गठन गरेको हो ।
एसोसियसनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका १६५ वटै क्षेत्रका उम्मेदवारलाई विजयी गराउन समिति गठन गरेको जनाएको छ । अध्यक्ष थापाले आगामी निर्वाचनमा पार्टीको नीति, विचार र उम्मेदवारको पक्षमा शुभेच्छुक संस्थामा आबद्ध वैदेशिक रोजगार ब्यवसायीलाई आफ्नो जिल्ला र क्षेत्रमा सक्रिय बनाउने उद्देश्यले समिति गठन गरिएको बताए ।
एसोसियसनले कोशी प्रदेशमा नरेन्द्रप्रसाद ढकाल, मधेस प्रदेशमा दानबहादुर बुढाथोकी, बागमती प्रदेशमा विनोदजङ्ग केसी, गण्डकी प्रदेशमा श्यामप्रसाद श्रेष्ठ, लुम्बिनीमा रामप्रसाद गैरे, कर्णालीमा ऋषिप्रसाद शर्मालाई संयोजक तोकिएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।