काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने धारणा राखेकि छिन् । उनले आज खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति आयोजित पहिलो दीक्षान्त समारोहमा बताएकी हुन् ।
नेपाल खुल्ला विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति कार्कीको प्रमुख आतिथ्यमाआयोजित पहिलो दीक्षान्त समारोहमा उनले उत्कृष्ट उच्च शिक्षामार्फत स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गरी विद्यमान समस्या समाधान गर्दै जानुपर्नेमा जोड दिइन् । “हाम्रो मुलुक अरुले आएर बनाइदिने होइन, हामीले बनाउने हो । बेथितिबाट भाग्ने होइन । हामीले बेथिति, भ्रष्टाचारलाई हटाउँदै जानुपर्छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “दीक्षित विद्यार्थीलाई मुलुक बनाउने अभियानमा सहकार्य गर्न म आग्रह गर्दछु । विश्वविद्यालयले प्रतिभा पलायन हुन नदिने, आजका युवाको बदलिँदो स्थितिलाई सम्बोधन गर्ने र उत्पादित जनशक्तिले स्वदेशमा योगदान दिनसक्ने गरी उत्पादनमुखी शिक्षा दिन सक्नुपर्छ ।”
समारोहमा प्रमुख अतिथि शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले जीवनपर्यन्त सिकाइमा लाग्नु र कठिन अवस्थामा पनि सिकाइलाई निरन्तरता दिनसक्नु खुल्ला विश्वविद्यालयका विद्यार्थीको दायित्व हुने बताए । कार्यक्रमा सहभागी विभित्र संकायका उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरिएको थियो । विज्ञान, स्वास्थ तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन संकायमा उच्चशिक्षा दिँदै आएको छ ।
खुल्ला विश्वविद्यालयका उपकुलपति डा शिलु मानन्धर बज्रचार्यले व्यस्त जीवनशैली बिताइरहेका व्यक्तिलाई खुल्ला विश्वविद्यालयमार्फत दूरशिक्षाका माध्यमबाट सहज रूपमा उच्चशिक्षा दिँदै आएको बताए ।