विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तामाङ समुदायको प्रमुख तथा ऐतिहासिक पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री कार्कीले आज शुभकामाना सन्देश जारी गर्दै प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसारले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परालाई जनाउने उल्लेख गरे । तामाङ समुदायको सामाजिक, धार्मिक र सांस्कृतिक पहिचानसँग यो पर्व गहिरो रुपमा जोडिएको उल्लेख गर्दै उनले यस पर्वका माध्यमबाट आपसी सद्भाव, सामाजिक एकता र समृद्धिको यात्रा तय गर्न टेवा पुग्ने विश्वास लिएको बताए ।
“हाम्रो मुलुक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानले सम्पन्न छ । यही पहिचानले नै हाम्रो संस्कृतिक र गौरवलाई समृद्ध बनाएको छ”, मुख्यमन्त्री कार्कीको शुभकामना सन्देशमा उल्लेख छ । उनले पर्वहरुको उमङ्गसँगै हाम्रो आपसी सद्भाव र सहयोगी भावनाले राष्ट्रिय एकतामा हातेमालो गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।