काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहबीचको एकता प्रक्रिया थालनी भएको दुई महिनाअघि टुंगिएको छ । एकता प्रक्रियामा सुरुदेखि नै सामेल नेता असिम साहका अनुसार एकताको प्रारम्भिक गृहकार्य लामिछाने सहकारी ठगी अभियोगमा कैद सजाय काटिरहेका बेला नक्खु कारागारमै भएको थियो ।
यही ७ र १० पुसमा पटक-पटक बैठक भए पनि एकता प्रक्रियाले अन्तिम रूप भने सातबुँदे सहमतिमार्फत आइतबार बिहानमात्रै पाएको हो । यसअघि दलहरूबीच एकताको संवाद प्रायः दलका शीर्ष नेताका निवास वा व्यापारीका घरमा हुने गर्थे । तर, यसपटक रास्वपा-बालेन संवाद काठमाडौंको कमलपोखरीस्थित एक ‘फिल्म स्टुडियो’मा टुंगियो ।
नेता साहको भनाइमा संवादलाई गोप्य राख्न छलफलको स्थान परिवर्तन गर्ने रणनीति बनाइएको थियो । सोहीअनुसार संवादका क्रममा दर्जनौं आन्तरिक बैठकहरू विभिन्न स्थानमा गरिएको थियो । उनले प्रभावसँग भने, ‘मिडियामा सूचना चुहिन नदिन ठाउँ-ठाउँ सरेर मिटिङ गर्नुप¥यो ।’ एकता प्रक्रियाका क्रममा संवादस्थल नक्खु कारागार, ज्वागल, लाजिम्पाट र कमलपोखरीसम्म फैलिएको थियो । लामिछाने कैदबाट छुटेपछि संवादलाई तीव्रता दिइएको र ज्वागलस्थित कुमार बेनको निवासमा लगातार दुई दिन बैठक भएको साह बताउँछन् ।
एकताका लागि रास्वपाबाट डा. स्वर्णिम वाग्ले र शिशिर खनालले भित्री समन्वयको भूमिका खेलेका थिए । बालेनपक्षबाट कुमार बेन र भूपदेव साह सक्रिय थिए । यी दुई पक्षबीच समन्वय गर्ने काम असिम र उनका दाइ आसिफले गरेका थिए । स्रोतका अनुसार प्रारम्भमै रविलाई पार्टी सभापति र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । तर, दलभित्रको पदीय आकांक्षा र आन्तरिक दबाबका कारण प्रक्रिया केही समय रोकिएको थियो ।
एकताका लागि उपसभापति डा. वाग्लेको नेतृत्वमा उच्चस्तरीय संवाद समिति गठन भएपछि छलफलले तीव्रता पाएको थियो । त्यसपछि मात्रै यसले पार्टी एजेण्डाको मान्यता पाएको थियो । रवि जब कारागारबाट छुटे उनी आफैं एकताका लागि दौडमा निस्किए । अन्ततः आइतबार बिहानै एकता भयो । एकता वार्तापछि सार्वजनिक भएको तस्बिरमा १२ जना पुरुष सहभागी देखिए ।
एकताको समझदारीपत्रमा रवि सभापति र बालेन भावी प्रधानमन्त्री हुने उल्लेख छ । त्यसका लागि बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीमा छन् । बालेन पक्षका अनुसार उनी झापा-५ बाट उम्मेदवार बन्ने सोच बनाउँदै छन्, जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीलाई जसरी आगामी निर्वाचनमा पराजित गरेर प्रतिनिधिसभा रोक्न बालेन चाहन्छन् । त्यही भएर ओली उठेकै क्षेत्रमा उम्मेदवारी दिने बालेनको तयारी छ ।
२०४८ सालयता निर्वाचन लडेका ओली पहिलोपटक २०६४ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । बाँकी सबै निर्वाचन जितेका छन् । उनै ओलीलाई पराजित गर्दै बालेन आगामी प्रतिनिधिसभाबाट प्रधानमन्त्री हुनेगरी रविसँग सहमति गरेका हुन् । तर, रवि र बालेनको एकता चुनौतीरहित भने छैन । नेपालमा विगतमा बनेका ठूला राजनीतिक एकताहरू दीर्घकालीनरूपमा टिक्न नसकेको इतिहास स्मरण गर्दै राजनीतिक विश्लेषक डा. तानाराथ घिमिरे सावधानी अपनाउनुपर्ने बताउँछन् । २०६४ सालको माओवादी उभार र २०७४ सालको वाम एकताले दिएको परिणाम त्यसका उदाहरणका रूपमा उनी उल्लेख गर्छन् ।
हाल रवि र बालेनबीच वरीयता वा पद बाँडफाडको विवाद नरहेको बताइए पनि कानुनी चुनौती, व्यक्तित्व टकराव र लोकप्रियताको जोखिमलाई व्यवस्थापन गर्नुपर्ने चुनौती कायम रहेको घिमिरेको विश्लेषण छ । उनले एकता टिकाउबारे भने, ‘सहकार्य दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने भन्ने प्रश्न भने उनीहरूको व्यवहार, समझदारी र कार्यान्वयन क्षमतामै निर्भर रहने छ ।’
रवि कि बालेन प्रभावी ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहबीच भएको सातबुँदे सहमतिका शब्दहरू केलाउँदै कसको हार जित भन्ने खुट्याउने काम भइरहेको छ ।
एकथरीले महानगरको एउटा प्रमुखले अघिल्लो प्रतिनिधिसभामै चौथो हैसियतमा रहेको दलबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेगरी समर्थन पाउनु र सोहीअनुसार समझदारी हुनु उनको जितको रूपमा अथ्र्याउने गरेका छन् । अर्कोथरीले चाहिँ सातबुँदे सहमतिमा रवि पूरापूर हाबी भएको टिप्पणी गरिरहेका छन् । उनीहरूका अनुसार पार्टी सभापति आफैं, दलको नाम रास्वपा नै, झण्डादेखि चुनाव चिह्नसम्मै रास्वपाकै हुने समझदारीले रविकै जित भयो । तटस्थ विचार मत प्रकट गर्नेहरूले भने दुवै जित-जितको स्थितिमा रहे ।
उनीहरूबीच भएको सम्झौताको पहिलो बुँदामा नवयुवा (जेन-जी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरूले घाइते र सहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिबद्धता जनाउँदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरूले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने अठोट लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिह्न र झण्डा पुरानै हुने अर्को बुँदामा छ । पार्टी नेतृत्व रवि र भावी प्रधानमन्त्रीमा बालेनलाई सार्ने भनिएको छ । पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने अर्को सहमतिको बुँदा छ । यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरूले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन् ।
रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन वैकल्पिक शक्ति पक्षधरहरूलाई उनीहरूले आह्वान पनि गरेका छन् । सम्झौतापत्रमा छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’
एकताबारे मिश्रित प्रक्रिया
रास्वपा र बालेनबीचको एकतालाई कांग्रेसले अनौठो नमानेको जनाएको छ । उपसभापति धनराज गुरुङले विचार मिल्ने पक्षहरूबीचको एकता स्वाभाविक भएको बताए । उनले भने, ‘अनौठो मान्नुपर्ने के छ र ? विचार र सिद्धान्त मिल्नेहरू एक भएकै राम्रो ।’ नेकपा एमालेले भने कडा प्रतिक्रिया दिएको छ । महासचिव शंकर पोखरेलले रवि र बालेनले गरेको एकतालाई जेन-जी विद्रोहको नाममा विध्वंश गर्ने मतियार र सञ्चालकबीचको गठजोडको रूपमा टिप्पणी गरेका छन् । उनले एकतालाई दोस्रो चरणको विध्वंशको प्रारम्भिक चरण भन्दै गम्भीर स्थिति भएको बताए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भने, ‘त्यही भएर लोकतान्त्रिक र देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताए । ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ ।’ नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले विचार मिल्नेहरूबीचको एकताबारे टिप्पणी गर्न नपर्ने प्रतिक्रिया दिएका छन् । तर, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लामिछाने र बालेनलाई गम्भीर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘उनीहरूले सत्तामा पुग्ने र प्रतिशोध साँध्ने मात्रै राजनीति गरे ।’
अन्य साना दलहरूले पनि रास्वपा र बालेनबीचको एकतालाई लिएर फरक-फरक धारणा अघि सारेका छन् ।