काठमाडौं - बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको हाे ।
विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालले आज पनि देशको तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको जानकारी दिए ।
उनले भने, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।”
उनकाअनुसार हिजाे बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्रीमा झरेको थियो । मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो ।
मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् । विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भू–भागमा भोलि मध्याह्नसम्म बाँकी भू–भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ ।