काठमाडौ- साताको दोस्रो कारोबार दिन अर्थात् मङ्गलबार बजार परिसूचक नेप्से ५८.६३ अंक बढेर २६८२.२५ विन्दुमा पुगेको छ ।
नेप्से बढेपनि यस दिन आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ ।
यस दिन सबै समूहको सूचक बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको देखिएको छ ।