Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सडकले निम्त्याएको सास्ती
सडकले निम्त्याएको सास्ती
ध्रुवसागर शर्मा
ध्रुवसागर शर्मा शुक्रबार, साउन ११, २०८१
  • राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा चारवटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान
  • बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरो
  • बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ सूचीमा
  • म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो झनझन् भयानक बन्दै

गलेश्वर – म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ? अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन ।

सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरूको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो । म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुंगा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो । 

वि.सं. २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुंगा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो । जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्र्याक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो । ७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको संघीय राजधानी काठमाडौं, प्रदेशको राजधानी पोखरालगायत देशका अन्य सहरहरूसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर, अनेकौं भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

यस सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमितरूपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारीसाधनलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिए ।

Hardik health

‘सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैं सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

‘राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताए ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरो रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए । ‘ती पहिरोहरूमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरो हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौं,’ उनले भने ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ । ‘अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,’ आयोजना प्रमुख झाले भने ।

पाखोबाट खस्ने ढुंगा र पहिरोले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिकरूपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिरोले रोकिनुपर्ने अवस्था छ ।

भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उनले जानकारी दिए ।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहने र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ ।

उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिरोका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताए । भिरकोट र बाँदरजुंगे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो ।

सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो । आयोजना प्रमुख झाले विकल्पविहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सबै पक्षको उत्तिकै चासो रहनुपर्ने बताएका थिए ।

‘प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कयौं व्यक्तिहरूको ‘लाइफ इन्ड’ हुने गरेको छ,’ रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।’

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बर्सात्को समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचना बोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । ‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दै छौं, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ,’ प्रजिअ ढकालले भने । 

‘अति जोखिमपूर्ण’ चारवटा पहिरो पहिचान
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा चारवटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् । भूगर्भविद्हरूबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरो रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरो पहिचान भएका बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।

उनका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर पहिरोलाई जोखिमपूर्ण पहिरोको सूचीमा राखिएको छ । पहिरोको विस्तृत अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत अनुमान तथा डिपिआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उनले जानकारी दिए । ‘बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किलोमिटर सडक खण्डमा पर्ने पहिरोको भौगर्भिक अध्ययन भइरहेको छ, अहिलेसम्म चारवटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचीकृत गरिएको छ,’ आयोजना प्रमुख झाले भने ।

‘बेनी–लेते खण्डमा रहेका ३५ वटा पहिरोहरूमध्ये नौवटा पहिरो मनसुन याममा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ,’ मालढुंगा–बेनी–जोमसोम–कोरला सडक आयोजना इञ्जिनियर विष्णु चापागाईंले भने, ‘यी स्थानमा वर्षा हुने बित्तिकै पहिरो खस्ने भएकाले मनसुन अवधिभरका लागि एस्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौं । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनुपर्ने देखिएको छ ।’

मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुंगा खस्ने भएकाले पैदल तथा सवारीसाधनका यात्रु जोखिममा छन् । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उनले जानकारी दिए ।

जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो
डेढ दशकदेखि करोडौं खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौंपटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैंको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।

पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ ।‘यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, वैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ छ,’ मंगला गाउँपालिका–१, कुहुँका दीपशिखा माविका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले भने । उनले अहिलेको अवस्थामा प्रयोग भइरहेको वैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्नसमेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘बर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ, अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौं,’ अध्यक्ष रोकाले भने ।

मंगला गाउँपालिका–३ पखेर लुलियाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले हालै प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो । प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता नहुँदा वैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ ।

सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नु पर्दैन । फापरखेतमा करिब २०० मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे २०० भन्दा माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बांगेपहिरो मुख्य चुनौती बनेको छ । रासस
 


प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP