रौतहट - गौर नगरपालिकाका सरसफाइ कर्मचारीहरू पूर्वसूचना तथा जानकारी नदिई अचानक काम छाडेर हडतालमा गएपछि नगरपालिकाले तत्काल काममा फर्किन सार्वजनिक अपील गरेको छ।
गौर नगरपालिकाले २०८३ असोज १५ गते बिहीबार सार्वजनिक अपील जारी गर्दै सरसफाइ कार्य अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले हडतालमा नजान आग्रह गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलद्वारा जारी अपीलमा चालु आर्थिक वर्ष २०८३/०८४ को श्रावण र भदौ महिनाको तलब तथा वार्षिक चाडपर्व खर्च कर्मचारीहरूलाई भुक्तानी भइसकेको उल्लेख गरिएको छ। त्यसपछि नगरपालिकालाई कुनै पूर्वसूचना, जानकारी वा ज्ञापनपत्र नदिई सरसफाइ कर्मचारीहरू ड्युटी छाडेर हडतालमा गएको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले कर्मचारीका कुनै माग वा समस्या भए वार्ता, संवाद तथा छलफलबाट समाधान गर्ने बाटो खुला रहेको स्पष्ट पारेको छ। साथै सरसफाइ सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले प्रचलित कानुनअनुसार यस्तो सेवामा हडताल गर्न नपाइने व्यवस्था रहेको नगरपालिकाको अपीलमा उल्लेख छ।
नगरपालिकाका अनुसार आर्थिक वर्षको वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रत्येक वर्ष असार महिनाभित्र पारित गर्नुपर्ने र सोही बजेटको सीमाभित्र कर्मचारीहरूको वार्षिक तलब प्रतिवेदनसमेत असार महिनाभित्र स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। नगरपालिकाले यी दुवै प्रक्रिया असार महिनाभित्रै सम्पन्न गरिसकेको जनाएको छ।
सरसफाइ कर्मचारीहरूसँग वार्ताका क्रममा पहिचान भएका जायज मागहरू आगामी नगरसभामार्फत सम्बोधन गर्न सकिने अवस्था रहेको नगरपालिकाले जनाएको छ।
तर, नेपाली हिन्दूहरूको महान् पर्व दसैंको मुखमा सरसफाइ सेवा प्रभावित हुने गरी हडतालमा जानु उचित नभएको भन्दै नगरपालिकाले हडतालमा रहेका सम्पूर्ण सरसफाइ कर्मचारीलाई पूर्ववत् रूपमा आफ्नो काममा फर्किन आग्रह गरेको छ।
नगरपालिकाले नगरको सरसफाइ सेवा नियमित बनाउन सहयोग गर्न समेत सम्बन्धित कर्मचारीलाई अपील गरेको छ।