पर्सा- महानगरपालिका–१५ स्थित वास्तु विहार चोक नजिकबाट सशस्त्र प्रहरी बल, नेपालले हतियार तथा गोली बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको विशेष टोलीले शंकास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्ने क्रममा हतियार तथा गोली बरामद गरेको हो।
चेकजाँचका क्रममा कारबाट सिक्सर २ थान, कट्टुवा पेस्तोल २ थान तथा ७.६२ एमएम एसएलआरका ६ राउण्ड गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद भएका हतियार तथा गोलीसहित सम्बन्धित कारलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।
भारतीय नम्बर प्लेटको सवारीसाधनबाट एकैपटक विभिन्न प्रकारका हतियार तथा गोली बरामद भएपछि घटनालाई सुरक्षा निकायले गम्भीर रूपमा लिएको छ। बरामद हतियार कहाँबाट ल्याइएको थियो, यसको प्रयोग वा ओसारपसारमा को–को संलग्न थिए भन्ने विषयमा सम्बन्धित निकायबाट थप अनुसन्धान हुने बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा हतियार ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिइएको छ।