वीरगञ्ज- नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले ११ र १२ सेप्टेम्बर २०२६ मा वीरगञ्जको भ्रमण गर्दै सीमापार व्यापार, द्विपक्षीय सहयोग तथा नेपालमा हालै आएको बाढीपछिको राहत तथा उद्धारका विषयमा विभिन्न पक्षसँग छलफल गरेका छन्।
भ्रमणका क्रममा ११ सेप्टेम्बरमा राजदूत श्रीवास्तवले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गरे। सो क्रममा उनले वीरगञ्ज भन्सार कार्यालयका प्रमुख, टर्मिनल प्रमुखलगायत सम्बन्धित अधिकारीहरूसँग भेट गरी सीमापार व्यापार तथा आवागमन सहजीकरणका विषयमा जानकारी लिए।
त्यसपछि उनले भारततर्फको रक्सौलस्थित आईसीपीको पनि भ्रमण गरे। त्यहाँ उनले भारतीय भूमि पत्तन प्राधिकरण (एलपीएआई), सशस्त्र सीमा बल (एसएसबी), भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन तथा एफएसएसएआईका वरिष्ठ अधिकारीहरूसँग भेट गरी सीमापार व्यापार सहजीकरण र दुई देशबीचको समन्वयको अवस्थाबारे समीक्षा गरे।
राजदूत श्रीवास्तवले रक्सौलस्थित भारतीय दूतावासको बंगलाको समेत भ्रमण गरी वृक्षरोपण गरेका थिए। सोही दिन साँझ उनले भारत-नेपाल सहयोग मञ्च तथा नेपाल-भारत मैत्री संघका प्रतिनिधिमण्डलसँग भेटघाट गरे। त्यसपछि वीरगञ्जका उद्योगपति तथा वीरगञ्ज उद्योग वाणिज्य संघ, एनआईसीसीआई र एनवाईईएफका प्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए।
भ्रमणको दोस्रो दिन, १२ सेप्टेम्बर बिहान राजदूत श्रीवास्तवले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गरे। भेटघाट तथा अन्तरक्रियाका क्रममा राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो तथा दिगो मित्रतामा जोड दिँदै नेपालको विकासप्रति भारतको निरन्तर प्रतिबद्धता रहेको बताए।
उनले नेपालमा आएको बाढीपछि भारतले उपलब्ध गराउँदै आएको राहत तथा उद्धार सहयोगबारे पनि जानकारी गराए। उनका अनुसार २६ अगस्ट २०२६ देखि भारतले नेपालका लागि १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको छ। राहत सामग्रीमा आश्रय सामग्री, कम्बल, स्वच्छता किट, सौर्य बत्ती तथा औषधिलगायतका सामग्री रहेका छन्। यी सामग्री आठ वटा भारतीय वायुसेनाका उडानमार्फत नेपाल ल्याइएको उनले जानकारी दिए।
त्यसैगरी, चिलिमे र लाङटाङ क्षेत्रमा उद्धार कार्यका लागि विशेष सुरुङ उद्धार टोलीसहित ५४ जना विशेषज्ञ कर्मचारी परिचालन गरिएको राजदूत श्रीवास्तवले बताए। भारतले डीएनए किट तथा फोरेन्सिक सहयोग उपलब्ध गराउनुका साथै बाढीबाट प्रभावित कनेक्टिभिटी पुनर्स्थापना गर्न बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत उपलब्ध गराइरहेको उनले जानकारी दिए।
उनका अनुसार २३० फिट लामो बेली ब्रिज निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सात वटा पुल निर्माणका लागि आवश्यक सामग्री नेपाल पठाइएको छ। राजदूत श्रीवास्तवको वीरगञ्ज भ्रमणका क्रममा भएका भेटघाटले नेपाल-भारतबीचको सीमापार व्यापार, पूर्वाधार, उद्धार तथा राहत र द्विपक्षीय सहकार्यका विभिन्न पक्षमा निरन्तर संवाद र समन्वयलाई थप बल दिएको सहभागीहरूले बताएका छन्।भ्रमणका केही तस्बिरहरू समाचारमा उपयुक्त प्रयोगका लागि संलग्न छन्।