- गृहमन्त्रीको अभिव्यक्तिप्रति ओली र पुनको प्रतिवाद
- जेन-जी सहिदको स्मृति मञ्चमा आपराधिक पृष्ठभूमिका व्यक्ति विशिष्ट पाहुना
- विवादित धर्मगुरु श्रीनिवास र कृष्णमूर्तिजी महाराजलाई साक्षी राखेर गृहमन्त्रीको चेतावनी- अब सुध्रिनुहोस् ।
- अतिथिहरूलाई लिएर सत्तारूढ रास्वपाकै सांसदको प्रश्न ।
काठमाडौं- गृहमन्त्री सुधन गुरुङले जेन-जी स्मृतिसभाको मञ्चबाट पुराना राजनीतिक दललाई ‘सुध्रिन’ चेतावनी दिए । तर, उनको भाषणभन्दा बढी चर्चा त्यही मञ्चमा देखिएका दुई अनुहारको भयो ।
जेन-जी विद्रोहीहरूले जलाएर खरानी पारेको बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा मंगलबार आयोजित जेन-जी सहिद स्मृतिसभामा गृहमन्त्री गुरुङसँगै आचार्य श्रीनिवास भनेर चिनिने दिनेशप्रसाद पण्डित र कृष्णमूर्तिजी महाराज भनेर चिनिने विजय भण्डारी अतिथिका रूपमा बसेका थिए । गृहमन्त्रीले पुराना दललाई लक्षित गर्दै भने, ‘त्यो दिन इतिहास हो, इतिहासलाई फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस् भन्न चाहन्छु । समय छ, सुध्रिनुस् ।’
तर, उनले ‘सुध्रिनुस्’ भनिरहँदा मञ्चमै आपराधिक पृष्ठभूमिका श्रीनिवास र भण्डारी थिए । श्रीनिवासमाथि २०७४ चैतमा विराटनगरको जतुवामा आफैंमाथि गोली प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । प्रहरीले धार्मिक तथा साम्प्रदायिक तनाव सिर्जना गर्ने उद्देश्यले उनले आफ्ना सहयोगीमार्फत आफूमाथि गोली प्रहार गर्न लगाएको जनाएको थियो ।
घटनापछि प्रहरीले उनका सहयोगी माधव चौधरीलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चौधरीले श्रीनिवासकै योजनामा आफूले गोली चलाएको बयान दिएको प्रहरीले सार्वजनिक गरेको थियो । उनको भनाइ थियो, ‘गुरूकै योजनामा पाँच मिटर टाढाबाट मैले गोली हानेको हो । गुरूले मलाई हातमा हान्नू भन्नुभएको थियो । तर रातको समय पाँच मिटर टाढाबाट हान्दा मिसफायर भएर हातमा नलागी छातीमा लाग्यो ।’
घटनामा श्रीनिवास स्वयं घाइते भएका थिए । प्रहरीले उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियारसम्बन्धी कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो । तर, अदालतमा पुगेपछि उनले आफूमाथि अपरिचित व्यक्तिले गोली हानेको भन्दै प्रहरीको अनुसन्धान अस्वीकार गरेका थिए । अन्य साक्षी तथा आरोपितहरूलेसमेत अदालतमा बयान फेरेपछि घटनाले फरक मोड लिएको थियो ।
श्रीनिवासको विवाद भने त्यही घटनामामात्र सीमित छैन । २०८० असोजमा जनकपुरमा गौहत्याको विरोधमा आयोजित कार्यक्रममा उनले नांगो खुकुरी प्रदर्शन गर्दै हिंसात्मक अभिव्यक्ति दिएका थिए । त्यस क्रममा उनले भनेका थिए, ‘गौहत्या गर्नेलाई जहाँ भेट्यो त्यहीँ नांगो खुकुरीले काट्नुपर्छ, त्यसको सम्पूर्ण कानुनी र नैतिक जिम्मा म लिन्छु ।’
त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यस्तै, २०८० मंसिरमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा प्रहरीमाथि ढुंगामुढा र सडक अवरोध गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । यिनै श्रीनिवास मंगलबार जेन-जी सहिद स्मृतिसभामा विशिष्ट अतिथिका रूपमा थिए । कार्यक्रम उद्घाटनका क्रममा उनले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्नसमेत सहयोग गरेका थिए ।
अर्का अतिथि विजय भण्डारी पनि विवादमुक्त छैनन् । धार्मिक गतिविधिको आवरणमा सर्वसाधारणलाई ठगी गरेको मुद्दामा भण्डारी अदालतबाट दोषी ठहर भइसकेका व्यक्ति हुन् । काठमाडौं जिल्ला अदालतले ६ मंसिर २०७३ मा दुई वर्ष छ महिना कैद र ८१ लाख ८५ हजार रुपैयाँ बिगो तथा जरिवाना हुने फैसला गरेको थियो ।
धार्मिक अनुष्ठान र विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम उठाएको अभियोगमा उनी दोषी ठहर भएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणले पनि २७ जेठ २०७५ मा उनलाई एक वर्ष छ महिना कैद र बिगो जरिवाना हुने फैसला गरेको थियो ।
भण्डारीले विभिन्न समयमा आफूलाई फरक-फरक नामबाट चिनाउँदै आएका छन्् । विष्णु प्रपन्नाचार्य, बालगोपालेश्वर, बालयोगेश्वर र कृष्णमूर्तिजी महाराजजस्ता नामबाट धार्मिक गतिविधिमा देखिँदै आएका उनी अरु विवादमा पनि मुछिएका व्यक्ति हुन् । उनी २०८१ साउनमा पशुपतिनाथ परिसरमा आयोजना गरिएको एक महिना लामो कोटीहोमका आयोजक पनि थिए । कोटीहोममा उठेको भेटीको हिसाबकिताबलाई लिएर विवाद भएको थियो ।
मंगलबारको जेन-जी स्मृतिसभामासमेत भण्डारीको भूमिका देखिएको आयोजकका प्रतिनिधिले बताएका छन्। कार्यक्रमस्थलमा टेण्टलगायत व्यवस्थापनमा उनको संलग्नता रहेको बताइएको थियो । यसरी आपराधिक विगत भएका दुई व्यक्तिलाई जेन-जी सहिदको स्मृतिमा आयोजित कार्यक्रममा अतिथिका रूपमा राखिएपछि सत्तारूढ दलभित्रै प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सचेतक क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत कार्यक्रमको मञ्चमाथि नै प्रश्न उठाएकी छन्् । ‘मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ?,’ उनले लेखिन् ।
धितालले जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवार र घाइतेको पीडालाई समेत जोड्दै प्रश्न गरेकी छन््, ‘त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन ग¥यो, जसले आफ्ना सन्तान गुमाएका छन््, जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन््, तिनले के बुझे, मलाई थाहा छैन ।’
धितालको प्रश्नपछि गृहमन्त्री गुरुङले आफ्नै पार्टीकी सचेतकलाई जेन-जी सांसदहरू सहभागी ह्वाट्सएप समूहमा हप्काएको विषयसमेत सार्वजनिक भएको छ । कार्यक्रम आयोजक जेन-जी परिवार कल्याणकारी समाजका सचिव रोशन गौतमले भने धर्मगुरुहरूको विवादित पृष्ठभूमिबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्् । ‘सबैलाई समेट्ने उद्देश्य थियो, पृष्ठभूमि थाहा भएन,’ उनको भनाइ छ ।
कार्यक्रममा श्रीनिवासलेसमेत सम्बोधन गरे । उनले दुईतिहाइको सरकारले जेन-जी आन्दोलनका घाइतेको उपचार गर्न नसक्नु लज्जाको विषय भएको बताए । प्रधानमन्त्री वालेन्द्र साह स्मृतिसभामा उपस्थित नभएको विषयलाईसमेत उनले ‘दुर्भाग्य’ भएको बताए ।यता, गृहमन्त्री गुरुङले जेन-जीका माग पूरा नभए फेरि गोली चल्न सक्ने चेतावनीपूर्ण अभिव्यक्ति पनि दिए । उनले भने, ‘हाम्रो माग पूरा नहुन अर्को गोली चल्नुपर्छ । अब अर्कोपटक गोली चलाउन यो देशमा कसैले हिम्मत गर्न सक्दैन ।’
जेन-जी आन्दोलनको एक वर्ष पुगेको स्मृतिमा आयोजित कार्यक्रमको उद्देश्य आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झना गर्नु र उनीहरूले उठाएका प्रश्नलाई राज्यसामु पुनः स्मरण गराउनु थियो ।
तर, स्मृति सभापछि बहस भने फरक दिशामा पुगेको छ । गृहमन्त्रीको भाषणमा पुराना दललाई ‘सुध्रिन’ आग्रह थियो । मञ्चमा भने आफैं विवादमा परेका पात्रहरू थिए ।
त्यसैले अहिले उठेको प्रश्न भनेकै जेन-जीले खोजेको परिवर्तनको मञ्चमा विगत विवादित भएका पात्रहरूलाई स्थान दिने निर्णय कसको थियो ? जवाफ छैन ।
गृहमन्त्रीको बोलीमा ओली-पुनको प्रतिवाद
गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दल र नेताहरूलाई लक्षित गर्दै दिएको आक्रामक अभिव्यक्तिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिवाद गरेका छन् ।
गृहमन्त्री गुरुङले मंगलबार पुराना राजनीतिक दलहरूलाई ‘सुध्रिन’ चेतावनी दिँदै विगतमा हेलिकप्टर चढेर भागेको प्रसंग जोडेर आक्रामक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘पहिले हेलिकप्टर चढेर भागेका थियौ, अहिले त्यो पनि हाम्रै हातमा छ । चढिहाल्यौ भने पनि जाक्दिन्छौं ।’
गुरुङको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले गृहमन्त्रीको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिन आवश्यक नरहेको बताए । बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको बुधबार अवलोकनका क्रममा उनले भने, ‘हामीले प्रशंसा गरिदिनुपर्ने हो र ? यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए ।’
नेकपाका सांसद पुनले पनि गृहमन्त्रीको ‘सुध्रिनुस्’ भन्ने अभिव्यक्तिलाई अपरिपक्व र शासकीय अनुभवको कमीको परिणाम भएको टिप्पणी गरेका छन् । ‘गृहमन्त्रीको सुध्रिनुस् भन्ने अभिव्यक्ति मुर्खताजस्तो लाग्छ । शासकीय अनुभवको कमी पनि हो,’ उनले भने ।
उनले पुराना राजनीतिक शक्तिलाई जनताले निर्वाचनबाट दण्डित गरिसकेको भन्दै आफूहरू त्यसलाई स्वीकार गरेर सच्चिँदै फेरि जनताको भावना बोकेर राज्यसत्ताको नेतृत्वमा फर्किने प्रतिबद्धताका साथ अघि बढिरहेको बताए ।