बारा- बाराको कोल्हवी नगरपालिका–२ बोधटोलस्थित एक घरबाट प्रहरीले अवैध हतियार तथा वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले बुधबार घरमा खानतलासी गरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हवी र कोल्हवी सब–डिभिजन वन कार्यालय बाराबाट खटिएको संयुक्त टोलीसमेतको उपस्थितिमा गरिएको खानतलासीका क्रममा कोल्हवी नगरपालिका–२ बोधटोल बस्ने ४६ वर्षीय रामविनोद दासको घरबाट लोड अवस्थामा रहेको भरुवा बन्दुक २ थान फेला परेको प्रहरीले जनाएको छ।
त्यसैगरी घरबाट हरिण जनावरको जस्तो देखिने छाला १ थान तथा धनेश चराको जस्तो देखिने चुच्चो १ थान समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बरामद गरिएका सामग्रीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कोल्हवी, बारामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।