- बाढीले दावाफिन्जो तामाङका छोराबुहारी, नाती-नातिना, छोरी र ज्वाइँ बगाएको छ। छोराबुहारी स्याफ्रुबेंसीको चौर नजिकको खेतमा पुरिएको हुन सक्ने आशंका छ। तर, त्यहाँ पुगेर हेर्ने साहस छैन।
- रसुवा कालिका-२ घुम्ती बजारकी ज्ञानु तामाङको परिवारमा पनि बाढीले ठूलो बज्रपात गरेको छ। उनका भान्जाहरू निरज मोक्तान र प्रिन्स तामाङ, भाइ सोमबहादुर थिङ तथा छोराहरू साजन गोले, अनिश गोले र विशाल श्रेष्ठ बाढीमा परेका छन्। छोरी किप्पा मोक्तानलाई पनि बाढीले बगाएको छ।
- परिवारहरू अहिले एउटा फोनको प्रतीक्षामा छन्। कतैबाट आफन्त भेटिएको खबर आउला भन्ने आशा उनीहरूले छोडेका छैनन्। तर प्रत्येक बित्दो दिनसँगै त्यो आशा कमजोर बन्दै गएको छ
रसुवा- ‘खोज्न जाने कोही छैन। म बुढो कहाँ जानु ?’ बुढेसकालले छोएका दावाफिन्जो तामाङले सुस्केरा हाल्दै यति भनिरहँदा उनका आँखा आँसुले भिज्यो। भोटेकोशीमा आएको भीषण बाढीले १० भदौमा उनको परिवारलाई एकैपटक बगाएर बेपत्ता बनाएको छ। छोरा, बुहारी, नाती-नातिना, छोरी र ज्वाइँको खोजीमा जान नसक्ने अवस्थाले उनीभित्रको पीडा झन गहिरिएको छ।
रसुवाको सानोभार्कुस्थित उनको घरमा पुग्दा तामाङ पुर्पुरोमा हात राखेर टोलाइरहेका भेटिए। स्याफ्रुबेंसीमा होटल सञ्चालन गरेर बस्ने उनका परिवारका सदस्यहरू बाढीमा परेको खबर उनले घटना भएको करिब डेढ घण्टापछि मात्रै थाहा पाए। बुढेसकालमा उनले भोग्नुपरेको पीडाको भारी असह्य छ। राष्ट्रिय पञ्चायतका पूर्वउपाध्यक्षसमेत रहेका तामाङले जीवनमा धेरै उतारचढाव देखे। तर, आफ्नै सन्तानको अवस्था थाहा नपाएर बस्नुपर्ला भन्ने कल्पना उनले गरेका थिएनन्।
‘म मेरो छोराबुहारी र छोरी-ज्वाइँसहित सबैलाई घरिघरि सपनामा देख्छु,’ उनले भने, ‘तर म बुढो र मेरी श्रीमती खोज्न जान सक्दैनौँ। जाँदा पनि कहाँ जानु ? भोटेकोशीमा बाढी छ।’ बाढीले परिवारका सदस्यलाई कहाँ पु¥यायो भन्ने कुनै टुंगो छैन। कसैले शव देखेको खबर ल्याउँछन््, कसैले बगेको ठाउँबारे अनुमान गर्छन्। तर, तामाङका लागि ती सबै कुरा सुन्नु पीडामाथिको अर्कोे पीडा बनेको छ। उनलाई छोराबुहारी स्याफ्रुबेंसीको चौर नजिकको खेतमा पुरिएको हुन सक्ने आशंका छ। तर, त्यहाँ पुगेर हेर्ने साहस छैन।
‘ज्वाइँ त अलिक तल हुनुहुन्थ्यो, उहाँ त बग्नुभयो,’ तामाङले भने, ‘मेरो छोराबुहारी भाग्दाभाग्दै खेतमा पुरिएको भन्ने सुनिएको छ। म त्यहाँ जान सकेको छैन।’ भोटेकोशी र त्रिशूली नदीको बाढीले बगाएकाहरूको शव चितवन, काठमाडौंलगायत विभिन्न ठाउँमा माटोमा पुरिएको खबर पनि उनले सुनेका छन् । यस्तो खबरले उनको मनमा एउटा नयाँ त्रास सिर्जना गरेको छ- कतै आफ्नै सन्तान पनि भेटिएर कसैले नचिनेपछि माटोमुनि गाडिएका त छैनन्।
‘कतै मेरो सन्तानहरू पनि गाडिए कि ?’ उनले पीडा पोख्दै भने। तामाङमात्रै होइनन्, बाढीले रसुवाका धेरै परिवारको संसार उजाड बनाएको छ। कतै एउटै परिवारका धेरै सदस्य बेपत्ता छन्। कतै परिवारको सहारा बनेका दाजुभाइ र दिदीबहिनी हराएका छन्। कतै आफन्तको खोजीमा मानिसहरू नदी किनारदेखि अस्पतालसम्म पुगिरहेका छन्।
घले दरबार नजिक घर भएका ३२ वर्षीय विशाल घलेले पनि बाढीमा आफ्नी आमाजस्तै दिदी गुमाएका छन्। स्याफ्रुबेंसीमा होटल सञ्चालन गर्ने उनकी दिदी विशालका लागि दिदीमात्र थिइनन्। आमा बितेपछि उनी विशाल र कान्छी बहिनीका लागि आमाको भूमिकामा थिइन्। ‘मलाई भरथेग गर्ने नै दिदी हुनुहुन्थ्यो,’ विशालले भावुक हुँदै भने, ‘आमा बित्नुभएपछि म र बहिनीका लागि दिदी आमा नै बन्नुभयो।’
दिदीले विशाललाई भविष्यका योजनाबारे पनि सम्झाउने गर्थिन्। स्थानीय राजनीतिमा सक्रिय हुन र वडाध्यक्षको चुनाव लड्न समेत प्रेरित गर्ने उनी अब संसारमा छैनन्। ‘दिदीले मलाई अब वडाध्यक्ष उठ्नु, सहयोग गर्छु भन्नुहुन्थ्यो,’ विशालले भने, ‘अब त दिदी नै छैन।’ भोटेकोशीमा बाढी आएको खबर पाएपछि विशाल मोटरसाइकल लिएर हतारिँदै घटनास्थल पुगे। आफू कति छिटो मोटरसाइकल चलाएर गएँ भन्ने पनि उनलाई होस् रहेनछ। बाटोमा घुँडाघुँडा हिलोमा डुबेपछि मात्रै उनी झल्यास्स भए।
‘भोटेकोशीमा बाढी आएको थाहा पाएपछि म मोटरसाइकल स्पीडमा कुदाएर गएँ,’ उनले भने, ‘मलाई थाहा पनि भएन कि कहिले पुगेँ। घुँडाघुँडा हिलोमा डुबेपछि मात्रै झल्यास्स भएँ।’ घटनास्थलमा पुगेपछि उनले देखेको दृश्य अझै उनको आँखामा ताजै छ। आफ्ना भेनालाई आधा डुबेको अवस्थामा देखे। उनलाई तानेर बाहिर निकाले। भेनाका बुबा पनि घाइते अवस्थामा भेटिए। दुवैलाई उद्धार गरेर काठमाडौंको एक गुम्बामा पठाए। तर, दिदीलाई भने बचाउन सकेनन्।
‘भेना आधा डुबेको अवस्थामा देखेँ र तानेर बाहिर ल्याएँ,’ उनले भने, ‘दिदी त बगिसक्नुभएको रहेछ।’ दिदीको सम्झनाले विशाललाई घरिघरि सताउँछ। कुरा गर्दागर्दै उनका आँखा रसाउँछन्। फ्रान्समा रहेकी कान्छी बहिनी पनि भिडियो कलमा रुन्छिन्। नेपाल फर्केर आउन चाहन्छिन्। तर, विशालले बहिनीलाई दिएको जवाफ पीडाले भरिएको छ।
‘तिमी आउँदा दिदी फर्केर आउने भए आउनु,’ उनी भन्छन्। यता रसुवाकै कालिका-२ घुम्ती बजारकी ज्ञानु तामाङको परिवारमा पनि बाढीले ठूलो बज्रपात गरेको छ। उनका भान्जाहरू निरज मोक्तान र प्रिन्स तामाङ, भाइ सोमबहादुर थिङ तथा छोराहरू साजन गोले, अनिश गोले र विशाल श्रेष्ठ बाढीमा परेका छन्। छोरी किप्पा मोक्तानलाई पनि बाढीले बगाएको छ। उनीहरूमध्ये धेरैको अहिलेसम्म अत्तोपत्तो छैन।
निरज, प्रिन्स, सोम, साजन र विशाल चालक थिए। उनीहरू चीनदेखि रसुवागढी हुँदै काठमाडौंसम्म नयाँ गाडी ल्याउने काम गर्थे। तर रसुवागढीबाटै उनीहरू सम्पर्कविहीन भए।परिवारका सदस्यको खोजीमा ज्ञानु र उनका आफन्तहरू नदी किनारदेखि विभिन्न स्थानसम्म पुगेका छन्। उनीहरूले बेत्रावती क्षेत्रमा तीन दिनसम्म खोजे। तर कसैको पत्तो लागेन।
‘हामीले बेत्रावतीमा तीन दिनसम्म खोज्यौँ, भेटेनौँ,’ ज्ञानुले भनिन्, ‘त्रिवि शिक्षण अस्पतालमा मानिस हराएको भनेर तस्बिर, नाम, ठेगाना र सम्पर्क व्यक्तिको फोन नम्बर पनि राखेका छौँ।’ परिवारहरू अहिले एउटा फोनको प्रतीक्षामा छन्। कतैबाट आफन्त भेटिएको खबर आउला भन्ने आशा उनीहरूले छोडेका छैनन्। तर प्रत्येक बित्दो दिनसँगै त्यो आशा कमजोर बन्दै गएको छ।
कालिका, सानोभार्कु, ठूलोभार्कु, ठाडेलगायत भोटेकोशी र अन्य नदी तटीय क्षेत्रका थुप्रै बस्तीमा बाढीले ठूलो क्षति पु¥याएको छ। धेरै घरपरिवार विस्थापित भएका छन्। कतिपयले आफन्त गुमाएका छन् भने कतिपय अझै बेपत्ताको प्रतीक्षामा छन्।