- छैटौं दिनसम्म पनि सुरुङबाट उद्धार गर्न सरकार असफल
- विभिन्न सुरुङमा फसेकाहरुको उद्धार नहुँदा आफन्त चिन्तामा
- स्वेदशी तथा विदेशी उद्धारकर्ता सुरुङबाट उद्धार गर्न असफल भएपछि आलोचित
- सुरुङमा फसेका मानिसको यकीन संख्या अझै आएन
काठमाडौं- रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनाहरूका सुरुङभित्र फसेका सयौं व्यक्तिको उद्धारमा सरकार असफल भएको छ। विपद्को छैटौं दिनसम्म पनि अधिकांश सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लाग्न नसक्दा परिवारजनमा चिन्ता बढ्दै गएको छ।
सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विदेशी उद्धार विज्ञलाई परिचालन गरेको दाबी गरे पनि सोमबार साँझसम्म कुनै पनि प्रमुख सुरुङभित्र फसेका व्यक्तिसम्म पुगेर उद्धार गर्न सफलता मिलेको छैन। विभिन्न आयोजनाका सुरुङको मुखसम्म पुगेका उद्धार टोलीले पानी, ढुंगा, माटो र संरचना भत्किएका कारण खोजी कार्य अत्यन्त कठिन बनेको जनाएको छ।
विशेषगरी माथिल्लो त्रिशूली-१, माथिल्लो त्रिशूली-३ ए, माथिल्लो त्रिशूली-३ बी, चिलिमे, रसुवागढी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा सयौं मानिस फसेको आशंका छ। तर, उद्धारको छैटौं दिनसम्म पनि सरकारसँग सुरुङभित्र वास्तवमा कति मानिस छन् भन्ने स्पष्ट विवरण छैन।
सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनामामात्रै ८९४ जना सम्पर्कविहीन छन्। तर, विभिन्न आयोजनाबाट उद्धार भइसकेका मानिस, सम्पर्कमा आएका व्यक्तिहरू र सुरुङभित्र हराइरहेका भनिएका मानिसको संख्या फरक-फरक सार्वजनिक हुँदा वास्तविक अवस्था झनै अन्योलपूर्ण बनेको छ।
नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले माथिल्लो त्रिशूली-३ ए को सुरुङमा उद्धार कार्य अत्यन्त कठिन बनेको बताएका छन्। उनका अनुसार सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
‘त्रिशूली-३ ए मा फसेकाहरूलाई बचाउन सकिने आशले काम गरिरहेका छौं तर सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ,’ श्रेष्ठले भनेका छन्।
तर, उद्धार कार्य सुरु भएको २४ घण्टाभन्दा बढी समय बितिसक्दा पनि सुरुङको मुख सफा गर्ने र पानी निकाल्ने काममै सीमित हुनुले सरकारी उद्धार संयन्त्रको तयारीमाथि प्रश्न उठाएको छ। सोमबार नेपाली सेनाले दिएको विवरणअनुसार माथिल्लो त्रिशूली-३ ए मा टनेल हेड फेला परेको छ। कम्प्रेसरबाट हावा पठाउने काम भइरहेको छ भने सुरुङभित्रको पानी निकाल्ने प्रयास पनि जारी छ।
सेनाले तीनवटा एक्साभेटर प्रयोग गरेर पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको जनाएको छ। तर, सुरुङभित्र फसेकाहरूको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। यस आयोजनाको सुरुङमा सयौं मानिस हराइरहेको आशंका गरिए पनि उद्धार टोली सुरुङको भित्री भागसम्म पुग्न नसक्नु सरकारका लागि ठूलो चुनौती बनेको छ।
विदेशी टोली आए पनि उद्धारमा ठोस सफलता छैन। सरकारले भारत, चीन, कोरिया तथा अन्य विदेशी विज्ञ र उद्धार टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। यद्यपि, विदेशी टोलीको उपस्थितिपछि पनि सुरुङभित्रको उद्धारमा ठोस सफलता हात पर्न सकेको छैन।
चिलिमे जलविद्युत् आयोजनामा विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोली सुरुङभित्र करिब ३५ मिटर पुगेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए। उनका अनुसार टोलीले अगाडिको भाग सफा गर्ने काम गरिरहेको छ। तर, आयोजनाको सुरुङ लामो र विभिन्न स्थानमा क्षतिग्रस्त रहेकाले उद्धार टोली अगाडि बढ्न सकेको छैन।
चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनले सुरुङसम्म पुग्ने मार्ग खोल्ने प्रयास भइरहेको बताएका छन्। ‘मागअनुसारका उपकरणहरू लगेर विद्युत् गृहसम्म पुग्ने मार्ग खुलाउन दिनभर काम गरिएको छ,’ उनले भने। तर, छैटौं दिनसम्म पनि ‘मार्ग खुलाउने काम भइरहेको छ’ भन्ने विवरणमै उद्धार सीमित हुँदा पीडित परिवारले सरकारको तयारीमाथि प्रश्न उठाउन थालेका छन्। लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा पनि नेपाली सेना, भारतीय उद्धार टोली र प्राविधिक पुगेका छन्। तर, त्यहाँ पनि फसेकाहरूको उद्धार हुन सकेको छैन।
नेपाली सेनाले सुरुङभित्र करिब ६५ मिटरसम्म पुगेको जनाएको छ। त्यहाँबाट एउटा शव निकालिएको छ। तर, सुरुङभित्र अन्य मानिस छन् वा छैनन् भन्ने स्पष्ट हुन सकेको छैन। सबैभन्दा बढी मानिस सम्पर्कविहीन रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अवस्था झनै चिन्ताजनक छ। २१६ मेगावाट क्षमताको निर्माणाधीन आयोजनाबाट ५७३ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ। यसमध्ये करिब ३०० जना सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्ने तयारीमा थिए भन्ने आशंका छ।
आयोजनामा बाढी आएको दिन करिब एक हजार ४०० भन्दा बढी मानिस काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। सरकारका अनुसार हालसम्म यस आयोजनाबाट २५४ जनाको उद्धार गरिएको छ। सोमबारमात्रै तीन जनाको उद्धार भएको बताइएको छ। तर, सयौं मानिस अझै सम्पर्कविहीन छन्।
विदेशी विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङ क्षेत्रमा करिब २०० मिटर र हाकु क्षेत्रमा ३०० मिटरसम्म पुगेर खोजी गरिरहेको सेनाले जनाएको छ। तर, यति ठूलो संख्यामा मानिस सम्पर्कविहीन हुँदासमेत सरकारसँग सुरुङभित्र फसेकाहरूको अवस्थाबारे स्पष्ट सूचना छैन।
यस्तै, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बीमा पनि सोमबारसम्म उद्धारले ठोस सफलता पाउन सकेन। आयोजनाका सबै संरचना बाढीमा बगेका कारण उद्धार कार्य कठिन बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आयोजनाबाट १२२ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धार कार्य गरिरहेका छन्।
यसअघि चिनियाँ उद्धार टोलीले आयोजना क्षेत्रको रेकी गरेको थियो। तर, सुरुङभित्र फसेका मानिससम्म पुग्न भने उद्धार टोली सफल भएको छैन। त्रिशूली-३ बीसँगै रहेको २२० केभी हब सबस्टेसनमासमेत ठूलो क्षति पुगेकाले त्यहाँबाट सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको छ।
यसैबीच, रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस फसेको आशंकामा नेपाली सेना, इञ्जिनियर र ड्रोन टोलीसहितको उद्धार टोली पुगेको थियो। तर, सुरुङको भित्री भागसम्म पुगेर ड्रोनमार्फत खोजी गर्दा मानिस नभेटिएपछि टोली फर्किएको छ।
रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार आयोजनाबाट कम्पनीका ४९ जना कर्मचारीसहित ९३ जना सम्पर्कविहीन छन्। नेपाली सेनाले यस आयोजनाबाट दुई जनाको उद्धार गरेको छ। तर, सम्पर्कविहीन भनिएका अधिकांश व्यक्तिको अवस्था अझै अज्ञात छ। सरकारले सुरुङमा मानिस नभेटिएको जानकारी दिए पनि सम्पर्कविहीन व्यक्तिहरू कहाँ छन् भन्ने प्रश्नको उत्तर दिन सकेको छैन।