- जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्य जारी
- चिलिमे जलविद्युत्को सुरुङबाट दुई जनाको शव निकालिए
- नेपाली, भारतीय र चिनियाँ टोली आधुनिक उपकरणसहित उद्धारमा
- रसुवा-नुवाकोटका विभिन्न सुरुङमा अझै सयौं फसेको अनुमान
- उद्धारमा ढिलाइप्रति आफन्त र राजनीतिक दलको गुनासो
काठमाडौं- गत बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीको पाँच दिनपछि मात्रै जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धार कार्यले गति लिएको छ। सुरुङभित्र फसेकाहरुलाई जीवितै उद्धार गर्ने आशाविपरीत शव फेला पर्न थालेको छ।
भीषण बाढी आएको पाँचौं दिन आइतबार नेपाली, चिनियाँ र भारतीय उद्धार टोलीले गरेको उद्धारको क्रममा चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुईवटा शव फेला परेका हुन्। टोलीले अत्याधुनिक उपकरणको सहायताले सुरुङभित्र लेदो तथा भग्नावशेष पन्छाउँदै गरेको खोजीका क्रममा उक्त मानव अवशेष फेला परेको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले २५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुगेको र सोही क्रममा दुईवटा शव निकालिएको पुष्टि गरेका छन्।
उनले प्रभावसँग भने, ‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुग्यो, त्यहाँसम्म जीवित व्यक्तिहरू फेला पार्न सकेनौं। दुईवटा शव फेला पा¥यौं।’बाढी गएको दुई दिनसम्म पनि स्वदेशी जनशक्ति र सीमित स्रोतसाधनले सुरुङभित्र छिर्न नसकेपछि सरकारले विदेशी सहायताको माग गरेको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार बाढीप्रभावित क्षेत्रको निरीक्षणका क्रममा स्वदेशी जनशक्तिलेमात्रै सुरुङ उद्धार जटिल बनेपछि चीन र भारतीय विशेषज्ञहरूलाई बोलाइएको बताएका थिए। ‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ र सोहीअनुसार लियौं,’ आइतबार बाढीप्रभावित क्षेत्र पुगेका मन्त्री खनालले भने।
शनिबार नै भारतीय विज्ञहरूको टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) गरेको थियो। त्यसपछि आइतबारदेखि भारतीय टोलीले नेपाली सुरक्षाकर्मीहरूसँगको समन्वयमा अत्याधुनिक उपकरणसहित उद्धार अभियान थालेको हो। यता, चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोलीले पनि रसुवाको विभिन्न सुरुङमा उद्धार कार्य सुरु गरिसकेको चिनियाँ दूतावासले जानकारी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपलब्ध तथ्यांकअनुसार रसुवा र नुवाकोटमा सञ्चालित १३ वटा जलविद्युत् आयोजना बाढीबाट गम्भीररूपमा प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा रहेका आयोजनाहरूमा कार्यरत कूल ९३३ जना सम्पर्कविहीन वा सुरुङभित्र फसेका छन्। जसमध्ये २७९ जनाको उद्धार भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।
माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) रसुवामा ५७६ जना सम्पर्कविहीन भएकामा आइतबारसम्म २५४ जनाको उद्धार भएको छ। करिब ३०० जना सुरुङमा फसेको अनुमान गरिएको छ। रसुवागढी १११ मेगावाट रसुवामा ९३ जना सम्पर्कविहीन छन्। लाङटाङ खोला २० मेगावाट रसुवामा ४२ जनामध्ये १८ जनाको उद्धार भएको छ। बाँकी २५ जना सुरुङभित्र फसेको इप्पानले जनाएको छ। चिलिमे २२ मेगावाट विद्युत् आयोजनाको सुरुङमा आठ जना फसेकामध्ये दुई जनाको आइतबार शव फेला परेको छ। माथिल्लो त्रिशूली-३ ‘बी’ ३७ मेगावाट नुवाकोटमा १२२ जना फसेको अनुमान गरिएको छ। बाँकी ११ जनाको उद्धार भएको छ।
माथिल्लो त्रिशूली-३ ‘ए’ ६० मेगावाट नुवाकोटमा ४२ जना बेपत्ता छन्। विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार गत शुक्रबार १९१ र शनिबार ८८ जनालाई विभिन्न सुरुङबाट सफलतापूर्वक उद्धार गरिएको भए पनि अझै सयौं मानिसहरूको अवस्था अज्ञात छ। सुरुङभित्र जमिनमुनि रहेको विद्युत् गृहको ओभरहलिङमामात्रै करिब ४०-४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्ति काम गरिरहेको अवस्थामा फसेको अनुमान गरिएको छ।
यहीबीच नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले माथिल्लो त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङमा ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। विद्युत् गृहबाट तार बाहिर निकाल्ने उक्त सुरुङ भेटिएसँगै अब पोर्ट सफा गरेर अक्सिजनसहित उद्धारकर्मी र क्यामरा भित्र पठाउने तयारी भइरहेको छ।
‘यो सुरुङबाट मान्छे भित्र छिर्न मिल्छ र भित्र फसेकाहरूको उद्धार गर्न पनि मिल्छ। अक्सिजन छिराउने प्वाल हिजै पारेकाले फसेकाहरू सकुशल हुने आशा छ। चाँडै उद्धारको प्रयास भइरहेको छ,’ श्रेष्ठले भने। सांसद् तथा सुरुङविज्ञ श्रीराम न्यौपाने स्वयं उद्धार क्षेत्रमै उपस्थित भएर ड्रिलिङ गर्ने र सुरुङको मुख खोल्ने प्रक्रियाको नेतृत्व गरिरहेका छन्। उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल (प्वाल) समेत बनाएका छन्। पोर्टबाट करिब १८० मिटर अगाडि गएपछि काम भइरहेको सम्भावित स्थानमा पुग्न सकिने र भित्रको वास्तविक स्थिति पत्ता लाग्ने बताइएको छ।
यस्तोमा, पाँच दिनसम्म पनि आफन्तको स्पष्ट खबर नपाएपछि पीडित परिवार आक्रोशित बनेका छन्। माथिल्लो त्रिशूली-१ मा कार्यरत इञ्जिनियर मिलन खरेलकी दिदी प्रिया खरेल भाइ सुरुङमै जीवितै फसेका छन् कि भन्ने आशामा नुवाकोटको बट्टारसम्म धाएकी छन्। तर अस्पताल वा उद्धार गरिएकाहरूको सूचीमा नाम नभेटिँदा उनका परिवार चरम चिन्तामा छन्। त्यस्तै, त्रिशूली-३ ‘ए’ मा कार्यरत औरस भण्डारीका आफन्त वासुदेव खतिवडाले पनि सरकारको सुस्त गतिप्रतिको गुनासो पोखेका छन्।
यसैबीच, नेपाली कांग्रेसले सुरुङमा अड्किएका व्यक्तिहरूको उद्धारमा देखिएको विलम्बप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। अति जोखिममा रहेका व्यक्तिको जीवन रक्षाका लागि आवश्यक उपकरणसहितको दक्ष जनशक्ति र प्रविधि तत्काल परिचालन गर्न तथा रसुवा र नुवाकोटाका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाउन कांग्रेसले माग गरेको छ।
उता, पूर्वमन्त्री एवं उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि धुञ्चेमा प्राविधिकहरूसँग छलफल गर्दै सुरुङमा फसेका श्रमिकहरूलाई निकाल्न ठूला मेसिन र उपकरणहरू हेलिकप्टरमार्फत मात्रै लैजान सकिने भएकाले अबको एकमात्र प्राथमिकता सुरुङबाट मान्छे जीवितै बाहिर निकाल्नुपर्ने बताएका छन्।