- बाहिरबाट गोली चलेको प्रमाण भेटिएन
- सुरक्षाकर्मीकै गोलीबाट तीन युवाको मृत्यु
- नेपाल प्रहरी र सशस्त्रबाट २० राउण्ड गोली प्रहार
- गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही सिफारिस
- सिरहामा पनि प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु
काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा बाहिरी पक्षबाट गोली चलेको आशंका छानबिन समितिको प्रतिवेदनले खारेज गरिदिएको छ । घटनाको छानबिन गर्न गठित समितिले कप्तानगञ्जमा चलेका गोली नेपाली सुरक्षाकर्मीले नै चलाएको निष्कर्ष निकालेको छ ।
घटनापछि सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिले गोली चलाएको हुन सक्ने चर्चा चलेको थियो । विवाद अन्य जिल्लामासमेत फैलिएपछि बाहिरी घुसपैठ भएको र आन्दोलनकारीमाथि कतैबाट गोली प्रहार भएको हुनसक्ने आशंका व्यक्त गरिएको थियो । तर, गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको छानबिन समितिले यस्तो आशंकालाई पुष्टि हुने आधार नभेटेको हो ।
समितिका अनुसार कप्तानगञ्ज घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी जम्मा २० राउण्ड गोली चलाएका थिए । त्यही क्रममा तीन जना युवाको ज्यान गएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । छानबिन समितिका एक सदस्यले प्रभावसँग भने, ‘बाहिरबाट गोली चलेको भन्ने हल्ला थियो । हाम्रो छानबिनले त्यस्तो फेला पार्न सकेन । बरु, सुरक्षाकर्मीबाटै गोली प्रहार भएको देखियो ।’
यससँगै कप्तानगञ्ज घटनामा ‘बाहिरबाट गोली चलाएको’ भन्ने आशंकामाथि पनि प्रश्न उठेको छ । घटना भएको दिनदेखि नै गोली कसले चलायो भन्ने विषय विवादको केन्द्रमा थियो । स्थानीय तहमामात्र होइन, सामाजिक सञ्जालमासमेत सुरक्षाकर्मीबाहेक अन्य पक्षले गोली चलाएको दाबी र आशंका फैलिएका थिए ।
समितिले घटनास्थलमा सुरक्षाकर्मीको गतिविधि, गोली चलेको विवरण र त्यसबाट भएको क्षतिलाई अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो । कप्तानगञ्जमा १० साउन राति करिब १० बजे चर्कोे आवाजमा डिजे बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । सामान्य विवादका रूपमा सुरु भएको विषय केही समयमै झडपमा परिणत भयो ।
विवाद बढ्दै जाँदा दुवै पक्षबीच घरेलु हतियारसहित आक्रमण भएको बताइएको छ । अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन भएको थियो । त्यस क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ सुरुमै घटनास्थलमा खटिएका थिए ।
स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सक्रिय भइरहेकै बेला गोली चलेको थियो । तनाव थप बढेपछि सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरीलेसमेत गोली चलाएको समितिको निष्कर्ष छ । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी २० राउण्ड गोली चलेको पाइएको समितिका एक सदस्यले बताए । ‘कप्तानगञ्जमा २० राउण्ड गोली चलेको देखिन्छ, गोली प्रहार गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी देखिन्छ,’ ती सदस्यले भने ।
कप्तानगञ्जको घटनामा तीन युवाको मृत्यु भएको थियो । घटनास्थलमै सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । ओमप्रकाशसँगै घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो । यसरी कप्तानगञ्ज घटनामामात्र तीन जनाले ज्यान गुमाएका थिए ।
घटनामा मानवीय क्षति भएपछि सुरक्षाकर्मीले गोली चलाउनु आवश्यक थियो कि थिएन भन्ने प्रश्न पनि उठेको थियो । छानबिन समितिले गोली चलाउने सुरक्षाकर्मीको भूमिकासमेत अध्ययन गरेको छ । समितिले घटनामा गोली चलाउने सुरक्षा अधिकारीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । तर, कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने विषय भने प्रतिवेदनमा स्पष्टरूपमा उल्लेख गरिएको छैन ।
समितिका एक सदस्यका अनुसार दुई फरक घटनामा गोली चलाउने सुरक्षाकर्मीलाई आवश्यक कारबाही गर्न सुझाव दिइएको छ । उनले भने, ‘मानवीय क्षति हुनेगरी गोली चलाउनेलाई कारबाही गर्र्नू भनेर सिफारिस गरेका छौं ।’ यसको अर्थ सुरक्षाकर्मीले गोली चलाएको तथ्य स्थापित भए पनि उनीहरूले कानुन र परिस्थितिअनुसार सही ढंगले बल प्रयोग गरे वा गरेनन् भन्ने विषय छुट्टै मूल्यांकनको विषय बनेको छ । छानबिन समितिले गोली चलेको विषयमात्र नभई घटनाका क्रममा जिल्ला प्रहरी प्रमुखदेखि फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीसम्मको भूमिकाबारेसमेत अध्ययन गरेको छ ।
घटना नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय कसरी भयो ? फिल्डमा कमाण्ड कसरी सञ्चालन भयो ? गोली चलाउने अवस्था कसरी सिर्जना भयो ? प्रशासनिक नेतृत्वको भूमिका के रह्यो ? यी विषयलाई प्रतिवेदनमा समेटिएको बताइएको छ । यसले घटनालाई केवल गोली चलेको विषयमा सीमित नगरी समग्र सुरक्षा व्यवस्थापन र प्रशासनिक निर्णयको कोणबाट समेत हेरेको देखिन्छ ।
सुनसरीसँगै सिरहाको गोलबजारमा भएको घटनाको छानबिन गर्न पनि छुट्टै समिति गठन गरिएको थियो । गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गरेको छानबिनले पनि बाहिरी व्यक्तिबाट गोली चलेको निष्कर्ष दिएको छैन । सिरहामा भएको घटनामा प्रहरीको गोलीबाट गणेश यादवको मृत्यु भएको समितिले निष्कर्ष निकालेको छ । घटनास्थलमा जम्मा नौ राउण्ड गोली चलेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसमध्ये सात राउण्ड डमी र दुई राउण्ड पेस्तोलबाट गोली चलेको पाइएको समितिले जनाएको छ । पेस्तोलबाट चलेको एउटा गोली गणेश यादवलाई लागेको र अर्को गोली लागेर अर्का एक व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख छ । सिरहा घटनामा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिएको थियो । तर, छानबिन समितिले उक्त दाबी पुष्टि नभएको जनाएको छ ।
गोलबजारमा भीड नियन्त्रणका क्रममा प्रहरी इन्स्पेक्टर सुदन केसी पनि खटिएका थिए । त्यही क्रममा गोली चलेको थियो । सुनसरीबाट सुरु भएको विवाद अन्य जिल्लामासमेत फैलिँदा घटनामा बाहिरी घुसपैठ भएको हुनसक्ने चर्चा चलेको थियो । सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिले गोली चलाएको आशंका पनि सार्वजनिकरूपमा व्यक्त गरिएको थियो । तर, दुवै समितिको निष्कर्षले त्यस्तो दाबीलाई बल पुग्ने प्रमाण भेटिएन भन्ने देखाएको छ ।
विशेषगरी कप्तानगञ्ज घटनामा तीन जनाको मृत्यु भएपछि गोली कसले चलायो भन्ने प्रश्न गम्भीर बनेको थियो । अब समितिको प्रतिवेदनले गोलीको स्रोतबारे एउटा महŒवपूर्ण तथ्य सार्वजनिक गरेको छ, घटनामा प्रयोग भएका गोली नेपाली सुरक्षा निकायबाटै चलेका थिए । यसले घटनाको अनुसन्धानलाई अर्को चरणमा पु¥याएको छ ।
अब मुख्य प्रश्न गोली बाहिरबाट चल्यो कि चलेन भन्नेभन्दा पनि सुरक्षाकर्मीले कुन परिस्थितिमा गोली चलाए, बल प्रयोगको आवश्यकता कति थियो र गोली चलाउने निर्णय कानुनसम्मत थियो कि थिएन भन्ने बनेको छ । छानबिन समितिले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायका लागि विभिन्न सुझाव पनि दिएको छ । भीड नियन्त्रणमा जाने सुरक्षाकर्मीलाई गैरघातक हतियार उपलब्ध गराउनुपर्ने, रबरको गोली प्रयोग गर्नुपर्ने तथा हतियार बोकेका सुरक्षाकर्मीलाई बडीवर्न क्यामरा अनिवार्य गर्नुपर्ने सुझाव दिइएको छ ।