काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।
काभ्रेपलाञ्चोक-सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा बेलुका १७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलो भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक भने सञ्चालनमा छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकुमा ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका-२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेशी जाने कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडक पहिरोले अवरुद्ध भएको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिका-४ काडाबगर र भूमे गाउँपालिका-५ धौलापहिरास्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । यसैगरी, लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र बेँसीसहर नगरपालिका-६ खरखरे भीरस्थित बेँसीसहर-मनाङ सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैँसेरी र अन्नपूर्ण गाउँपालिका-७ महभीरस्थित बेनी-जोमसोम सडक पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।