- कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिन एमाले अध्यक्ष ओली तयार
- बागमतीमा संख्या पुर्याउने संघर्ष जारी, जगन्नाथ थपलिया र किरण थापा मुख्य आकांक्षी
काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रयास अन्ततः सफल हुन सकेन । मुख्यमन्त्री कार्की आफ्नो अडानबाट पछि नहटेपछि ओली नै पछि हटेका छन् ।

मैले प्रदेश अध्यक्षको पनि कुरा सुनेँ, सचिवको कुरा पनि सुनेँ, तपाईंकै कुरा पनि सुनेँ । हाललाई काम गर्दै गर्नुस् । पछि उपयुक्त निर्णय गरौंला भन्नुभयो ।
हिक्मत कार्की
मुख्यमन्त्री, कोशी प्रदेश
भक्तपुरको गुण्डुस्थित निवासमा बुधबार भएको छलफलपछि ओलीले कार्कीलाई तत्कालका लागि मुख्यमन्त्रीकै जिम्मेवारीमा निरन्तरता दिने निर्णय सुनाएका हुन् । मुख्यमन्त्री कार्कीले ओलीको भनाइ उद्धृत गर्दै प्रभावसँग भने, ‘मैले प्रदेश अध्यक्षको पनि कुरा सुनेँ, सचिवको कुरा पनि सुनेँ, तपाईंकै कुरा पनि सुनेँ । हाललाई काम गर्दै गर्नुस् । पछि उपयुक्त निर्णय गरौंला भन्नुभयो ।’
यसअघि ओलीले कार्कीलाई राजीनामा दिन निर्देशन दिएका थिए । एमाले प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीसमेत गरिएको थियो । तर, कार्की राजीनामा दिन तयार भएनन् । एमाले सचिव शेरधन राईमार्फत पनि राजीनामाको सन्देश पठाइयो । कार्कीले भने पार्टीको औपचारिक निर्णय मागे ।
उता विराटनगरमा कार्कीविरुद्ध हस्ताक्षर अभियानसमेत चलाइयो । बहुमत सांसदको हस्ताक्षर जुटेको दाबी गरियो । तर, दुईतिहाइ समर्थन नपुग्ने देखिएपछि नेतृत्व परिवर्तनको योजना अघि बढ्न सकेन । मुख्यमन्त्री कार्कीले सुरुदेखि नै आफू सहजै नहट्ने अडान राख्दै आएका थिए ।
‘म संसदीय दलको नेतामात्रै भएर मुख्यमन्त्री भएको होइन । दुईतिहाइ प्रदेशसभा सदस्यको विश्वासको मत लिएर सरकार बनेको हो । यो उपधारा ५ को सरकार हो र आफ्नै ढंगले अगाडि बढ्छ,’ उनले सोमबार विराटनगरमा भनेका थिए । बुधबार ओली, कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतबीच भएको छलफलपछि अन्ततः ओलीले नेतृत्व परिवर्तनको निर्णय स्थगित गरे । ‘अध्यक्षले पनि आफ्नो कुरा राख्नुभयो । मुख्यमन्त्रीले पनि राख्नुभयो । हामी सबैले कुरा राखेपछि अध्यक्षले हाललाई निरन्तरता हुने निष्कर्ष सुनाउनुभयो,’ खतिवडाले भने ।
यससँगै केही दिनदेखि चर्किएको कोशी प्रदेशको सत्ता विवाद तत्कालका लागि टरेको छ । कार्कीले पद जोगाएका छन् भने नेतृत्व परिवर्तन गर्ने ओलीको योजना हालका लागि रोकिएको छ । यता बागमती प्रदेशमा मुख्यमन्त्री बन्ने संघर्ष उत्कर्षमा पुगेको छ । मुख्यमन्त्रीको एक वर्षे कार्यकालका लागि नेताहरूबीच आरोप–प्रत्यारोप, हस्ताक्षर अभियान, राजीनामाको दबाब र मध्यरातसम्म छलफल हुने अवस्थासम्म पुगेको छ ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको नयाँ सत्ता समीकरणअनुसार बागमती प्रदेशको नेतृत्व एमालेले पाउने सहमति भएपछि पार्टीभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा तीव्र प्रतिस्पर्धा सुरु भएको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया चार वर्षदेखि दलको नेतृत्व गरिरहेका कारण मुख्यमन्त्री बन्नेमा ढुक्क थिए । तर, भक्तपुरबाट निर्वाचित सांसद किरण थापा मगर पनि दाबेदारका रूपमा अघि आए । जो पार्टी सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतका विश्वासपात्र हुन् ।
यी दुवै नेताबीचको प्रतिस्पर्धा चर्किंदा सोमबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीनिवासमा मध्यरातसम्म छलफल भयो । छलफलको क्रममा ओलीको हप्कीदप्की सहन नसकी थपलिया अचेत भएर ढले । ओलीले उनलाई दलको नेताबाट राजीनामा तत्काल दिन दबाब दिएका थिए । किरण थापालाई मुख्यमन्त्री बनाउनुपर्ने भनेका थिए र जसले आफ्नो पक्षमा बहुमत सांसद रहेको दाबी गर्दै समर्थन गर्ने सांसदको संख्या नै सुनाएका थिए । उनलाई मुख्यमन्त्री बनाउन प्रदेश राजधानी हेटौंडामा निकट सांसदहरूले हस्ताक्षर संकलनसमेत गरेका थिए ।
मुख्यमन्त्री बनेर बागमतीको सत्ता नेतृत्व गर्ने अवधि करिब एक वर्ष हो । त्यसकै लागि नेताहरू मरिहत्ते गरिरहेका छन् । गुटगत प्रतिस्पर्धा खुलमखुला देखिन थालेको छ । आफ्नै दलका नेताविरुद्ध हस्ताक्षर अभियान चलाउने, राजीनामा माग्ने र शक्ति प्रदर्शन गर्ने अभ्यास गुटगत राजनीतिकै उपज हुन् ।
बागमती प्रदेशसभामा एमालेका उपसभामुखसहित २५ सांसद छन् । नेकपासँग २६ सांसद छन् । दुवै दल मिल्दा पनि सरकार गठनका लागि आवश्यक ५३ मत पुग्दैन । त्यसैले सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वा अन्य साना दलको समर्थन आवश्यक छ ।
यद्यपि, सरकार गठनभन्दा पहिले नै एमालेभित्र मुख्यमन्त्रीको कुर्सीका लागि देखिएको हानथापले पार्टीको आन्तरिक एकता र नयाँ सत्ता समीकरण दुवैमाथि प्रश्न उठाएको छ । अब अध्यक्ष ओलीले आन्तरिक विवाद कसरी टुंग्याउँछन् र अन्ततः मुख्यमन्त्रीको जिम्मेवारी कसले पाउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।