भद्रपुर- झापाकाेे पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो ।
भन्सार कार्यालयको तथ्यांकअनुसार आव २०८२/८३ मा तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१/८२ मा चार अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।
परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट ६३ करोड ९६ लाख ८९ हजार रुपैयाँको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ । नेपाली चियाको मुख्य बजार भारत रहेकाले भारतीय बजारमा आउने मूल्य उतारचढाव, गुणस्तर परीक्षणका क्रममा देखिने गैरभन्सार अवरोध र अन्तर्राष्ट्रिय बजारको मागअनुसार उत्पादन तथा मूल्य निर्धारणमा आउने परिवर्तनका कारण निर्यात प्रभावित भएको उनले बताए ।
नेपालमा उत्पादित सिटिसी र अर्थोडक्स चियाको ठूलो हिस्सा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतीय बजारमा पुग्ने गर्दछ । निर्यातमा आएको यो गिरावटले चिया उत्पादक किसान, उद्योगी र समग्र वैदेशिक व्यापार घाटामा असर पार्ने देखिन्छ ।