- साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा धार्मिक विषयलाई लिएर दुई समुदायबीच विवादले सल्किएको द्वन्द्व मधेशमा फैलिएको छ
- तीन जनाको मृत्यु र दुई दर्जन बढी सुरक्षाकर्मी घाइते भएपछि बल्ल सरकारले यस विषयमा चासो दिन थालेको छ
- स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनुषाको जनकपुर, सिराहाको गोलबजार तथा सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज लगायतका स्थानमा कफ्र्यु आदेश जारी
काठमाडौं- सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा दुई समुदाय (हिन्दु र मुस्लिम समुदाय)बीच उत्पन्न तनावका कारण तीन जनाको मृत्यु भएको छ । आइतबारयता भड्किएको हिंसाका कारण तीन युवाको मृत्यु भएको हो ।
आइतबार सुनसरी देवानगञ्ज- ४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । देवागञ्जमै २० वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भयो । विहीबार नै सर्लाहीको गोलबजारमा गणेश यादवको ज्यान गयो । घटनापछि सरकारसँग तत्कालै दुई विकल्प थिए- निष्पक्ष छानबिन गरेर पीडित समुदायको विश्वास जित्ने वा सुरक्षा बलको भरमा परिस्थिति नियन्त्रण गर्ने । तर सरकारले दोस्रो बाटो रोजेका कारण अहिले मधेशको घटना बागमती प्रदेश हुँदै अरु प्रदेशमा पनि सल्कने खतरामा पुगेको छ ।
गोली चलेको घटनाको चार दिन पछिमात्र प्रधानमन्त्री वालेन्द्र शाहले यस विषयलाई सम्बोधन गरेका छन् । तालुकदार मन्त्रालयका गृहमन्त्री सुधन गुरुङ बिहीबार बल्ल प्रभावित क्षेत्र पुगे ।
पाँच दिनको अवधिमा गोली लागेर तीन जनाको मृत्यु भइसकेको छ । सर्वसाधारण, बालबालिका र सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन् । विभिन्न स्थानमा आगजनी, तोडफोड, बजार बन्द, सडक अवरुद्ध, कफ्र्यु, निषेधाज्ञा र नेपाली सेनाको परिचालनसम्मको अवस्था सिर्जना भएको छ । घटनाक्रमले बालेन सरकारको संकट व्यवस्थापन, राजनीतिक नेतृत्व र शान्ति स्थापना गर्ने क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । विपक्षी दलहरूले सरकारलाई असफल घोषणा गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन् ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा धार्मिक विषयलाई लिएर दुई समुदायबीच विवाद भयो । विवाद झडपमा परिणत भएपछि सुरक्षाकर्मीले गोली चलाए । गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । त्यस घटनापछि सरकारसँग तत्कालै दुई विकल्प थिए- निष्पक्ष छानबिन गरेर पीडित समुदायको विश्वास जित्ने वा सुरक्षा बलको भरमा परिस्थिति नियन्त्रण गर्ने । सरकारले दोस्रो बाटो रोजेको आरोप अहिले व्यापक रूपमा उठिरहेको छ ।
गोली चलेको घटनाको चार दिन बितिसक्दा पनि प्रधानमन्त्री बालेन शाह सार्वजनिक रूपमा मौन रहे । प्रभावित क्षेत्रमा पुगेनन् । सर्वदलीय संवाद भएन । समुदायका अगुवासँग विश्वास निर्माण गर्ने प्रयास देखिएन । यसैबीच सुनसरीमा उपचाररत अर्का घाइतेको बिहीबार मृत्यु भयो । मृतक संख्या दुई पुग्यो । त्यसैदिन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भयो । यससँगै सुनसरी घटनापछि फैलिएको तनावमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
सरकार मौन रहँदा चर्कियो आन्दोलन
सुनसरीमा भएको घटनालाई लिएर विभिन्न संघसंस्था र स्थानीय समूहले मधेशका विभिन्न जिल्लामा प्रदर्शन थाले । सुरुमा विरोध प्रदर्शनमा सीमित आन्दोलन क्रमशः उग्र बन्दै गयो । जनकपुरधाम, गोलबजार, लहान, राजविराज, मटिहानी, वीरगञ्जलगायत क्षेत्रमा सडक अवरुद्ध गरियो । टायर बालियो । बजार बन्द गराइयो । प्रहरी र प्रदर्शनकारीबीच पटक-पटक झडप भयो ।
सिरहाको गोलबजारमा एबी मल, नेहाल आइरन स्टोर, नौसाद मोटरसाइकल ग्यारेज, रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेस तथा वडा अध्यक्ष सोहेव अनवरको घरमा आगजनी भयो । नेपाल टेलिकम अगाडि पार्किङमा रहेका २१ वटा मोटरसाइकलमा आगो लगाइयो ।
जनकपुरधाममा दिनभर ढुंगामुढा भयो । प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गर्नुपर्यो । ढुंगामुढाबाट १२ वर्षीय आनन्द दास गम्भीर घाइते भए । अर्का स्थानीय भोगेन्द्र कुमार रामको टाउको फुट्यो । सिरहा र धनुषामा गरी १९ जना सुरक्षाकर्मी घाइते भए । सर्वसाधारणतर्फ पनि धेरै घाइते भए ।
स्थिति नियन्त्रणबाहिर पुगेपछि कफ्र्यु र सेना
परिस्थिति थप बिग्रँदै गएपछि सरकारले कडा सुरक्षा रणनीति अपनाएको छ । धनुषाको जनकपुरधाम र सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ । पर्साको वीरगञ्जमा निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसपछि नेपाली सेना परिचालन गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले स्थानीय प्रशासन ऐनअनुसार नेपाली सेनालाई परिचालन गर्न पत्राचार गरे । उक्त पत्रमा आवश्यकता परे न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गरिएको उल्लेख छ । यसले सरकार सुरुदेखि संवाद र विश्वास निर्माणभन्दा सुरक्षा बलको प्रयोगतर्फ केन्द्रित भएको आरोपलाई थप बल दिएको छ । यता तनाव लगातार फैलिइरहेका बेला प्रधानमन्त्री बालेन शाहले चौथो दिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए ।
बैठकमा सुनसरी घटनादेखि मधेशमा फैलिएको तनाव, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे छलफल भएको छ । बैठकमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेपछि राजनीतिक संवाद सुरु गर्ने, गृहमन्त्रीलाई प्रभावित क्षेत्रमा पठाउने तथा समुदायबीच विश्वास पुनःस्थापना गर्ने विषय उठेको थियो ।
संसद्मा र्याखर्याख
बिहीबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूका सांसदहरूले सरकारको आलोचना गरे । उनीहरूले गोली चल्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाए । प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भनिन्, ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सरकारले यसको जवाफ सदनमा दिनुपर्छ र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’
नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले त प्रधानमन्त्री बालेन र गृहमन्त्रीको राजीनामा मागिन् । जेनजी विद्रोहको बेला प्रहरीले चलाएको गोलीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर्याए जसरी सुनसरीको देवानगञ्ज र सिहराको गोलबजारमा प्रहरीले गोली चलाउँदा तीन जना नागरिकको ज्यान जानुमा बालेन र सुधनलाई जिम्मेवार मानेर थुन्नुपर्ने बताइन् ।
नेकपाका सांसद गोपाल शर्माले पनि बालेन सरकारको विरोध गरे । उनले भने, ‘प्रधानमन्त्रीले संसद्मा आएर देशलाई जानकारी दिनुपथ्र्यो । तर, विडम्बना, हाम्रो प्रधानमन्त्री कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, न संसदलाई जानकारी छ, न कसैलाई जानकारी छ ।’
विपक्षी दलहरूले प्रधानमन्त्रीको मौनताले जनतामा अन्योल र असन्तुष्टि बढाएको दाबी गरेका छन् ।
यसबीच मधेशकेन्द्रित दलहरूले पनि बालेन सरकार पाँच दिनसम्म मौन बसेको भन्दै विरोध जनाएका छन् । जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय निर्माण दल तथा संविधानसभा सदस्य रामकुमार शर्मालगायत नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै बालेन सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
वक्तव्यमा सर्वोेच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरिएको छ । त्यस्तै, घटनामा मृत्यु भएकालाई सहिद घोषणा गर्न, परिवारलाई क्षतिपूर्ति, रोजगारी र सामाजिक सुरक्षा दिन माग गरिएको छ ।
घटनामा बाह्य तत्वको संलग्नता भए-नभएको स्वतन्त्र अनुसन्धानबाट सार्वजनिक गर्न तथा गोली चलाउने निर्णयको पनि छानबिन गर्न उनीहरूले माग गरेका छन् ।
राष्ट्रपतिदेखि पूर्वराजासम्मको अपिल
तनाव बढेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव कायम गर्न सबैलाई अपिल गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको संरक्षण गर्न आग्रह गरेकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेपाल विभिन्न समुदायबीचको सद्भावका लागि परिचित देश भएकाले सबै नेपाली मिलेर बस्नुपर्ने सन्देश दिएका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सुनसरीदेखि वीरगञ्जसम्म फैलिएको धार्मिक तनाव व्यवस्थापनमा बालेन सरकार अक्षम भएको बताएका छन् । उनले पनि हिन्दु र मुस्लिम धार्मिक समुदायबीच सद्भाव कायम गर्नुपर्ने र त्यसका लागि राजनीतिक दलहरूले पनि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
मधेश सरकार र मोरङमा छुट्टाछुट्टै पहल
मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् बैठक बसेर शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौती नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
यता मोरङमा प्रमुख जिल्ला अधिकारीको आह्वानमा बिहीबार सर्वपक्षीय सद्भाव बैठक बसेको छ । बैठकले धार्मिक सद्भाव कायम राख्ने निर्णय गर्दै विराटनगरमा बृहत् सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ ।