- सरकारको आलोचना गर्ने मिडियाको कार्यालयअघि शंकास्पदरुपमा गाडी पार्किङ
- रास्वपा नेताहरू पार्किङ गराउनेमा जोडिए
- मिडियामाथि नाकाबन्दी लगाउने र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै विरोध
- सरकारका निर्णय, कार्यशैली र सडकमा उठेका नागरिकका आवाजलाई दबाउन खोजेको भन्दै आलोचना
- प्रहरीको पनि भूमिका शंकास्पद
काठमाडौं- सरकारका गलत निर्णय र कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका सञ्चारमाध्यमलाई लक्षित गर्दै ‘पार्किङ आतंक’ मच्चाइएको छ । सोमबार एकैदिन तीन सञ्चारगृह (कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजन)का मूल प्रवेशद्वारमै गाडी पार्किङ गरेर चालक हिँडेका घटनाले सञ्चार क्षेत्रलाई तरंगित बनाएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको मैतिदेवीस्थित घरको गेटमा पनि त्यही शैलीमा गाडी पार्किङ गरेर छाडिएको थियो ।

घटनाको सिलसिला हेर्दा यो सामान्य देखिँदैन । पत्रकारहरूले भयरहित वातावरणमा काम गर्न पाउनुपर्छ ।
निर्मला शर्मा
अध्यक्ष, नेपाल पत्रकार महासंघ
यस घटनापछि सरकारविरोधी आवाज थुन्न खोजिएको आरोप सरकारमाथि लागेको छ । साथै, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै चौतर्फी विरोध सुरु भएको छ । सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, बुद्धनगरस्थित अनलाइनखबर र मध्य बानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयको गेटमा उस्तै शैलीमा गाडी पार्किङ गरिनु, प्रहरीको ढिलो सक्रियता र घटनाको पृष्ठभूमिले प्रेस स्वतन्त्रतामाथि संगठित दबाब सिर्जना गर्न खोजिएको हो कि भन्ने प्रश्न उब्जिएको सरोकारवालाको भनाइ छ । यद्यपि, यस घटनामा सरकार वा कुनै पक्षको प्रत्यक्ष संलग्नता अहिलेसम्म आधिकारिकरूपमा पुष्टि भएको छैन । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
पत्रकार, कर्मचारी र सेवाग्राहीलाई कार्यालय प्रवेश गर्न कठिन हुनेगरी गाडी तेस्र्याइएपछि ती सञ्चारगृहहरूले प्रहरी प्रशासनलाई तत्काल जानकारी गराएका थिए । तर सूचना दिएको झण्डै चार घण्टापछि मात्रै गाडी हटाउने प्रक्रिया सुरु भएको भन्दै सरकारी संयन्त्रको भूमिकामाथि प्रश्न उठाइएको छ ।
यो घटना त्यतिबेला भएको हो, जब सरकार सुकुमबासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाह प्रकरण, काठमाडौं महानगरको कार्यशैली तथा सार्वजनिक असन्तुष्टिका विषय तीव्र आलोचनाको केन्द्रमा छ । ती विषयमा लगातार समाचार सम्प्रेषण गरिरहेका सञ्चारमाध्यमकै गेट लक्षित हुनु संयोगमात्र नभएको टिप्पणी सञ्चार क्षेत्रका सरोकारवालाले गरेका छन् ।

गाडी राखेर बाटोमात्रै छेकिएको होइन, आवाज नै थुन्न खोजिएको हो ।
गगनकुमार थापा
सभापति, नेपाली कांग्रेस
प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार व्यञ्जनकारसमेत यस घटनामा जोडिएका छन् । उनकै योजनामा ‘पार्किङ आतंक’ मच्चाइएको दाबीसमेत सरोकारवालाले गरेका छन् । व्यञ्जनकारले सञ्चालन गर्दै आएको फेसबुक पेज ‘ट्रोल नेपाल’ मा सोमबार आएको स्टाटसले उक्त दाबीलाई थप पुष्टि गरेको छ । सोमबार सञ्चार गृहहरुका गेटमा शंकास्पद गाडी पार्किङ गरिएपछि उक्त पेजमा ‘राज्यले नो पार्किङ जोन भनेको ठाउँमा पार्किङ गरेको गाडी उठाउँदा वा फाइन काट्दा ज्यादती भयो भन्ने मिडियाहरु पाँच-छ घण्टामै आफूहरुलाई विज्ञप्ति निकाल्नपर्ने भए छ’ भन्ने पोस्ट लेखिएको थियो ।
उक्त पोस्टले हालै महानगर प्रहरीसँगको विवादपछि राइडर गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनालाई संकेत गरेको छ । महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिएपछि आत्मदाह प्रयास गरेका नेपालीको उपचारका क्रममा निधन भएको थियो । उनको निधनपछि सञ्चारमाध्यममा सरकारको कार्यशैलीको चर्को आलोचना हुँदै आएको छ । सोही कारण सरकारले आफूविरोधी आवाज दबाउने षड्यन्त्र भएको सरोकारवालाको दाबी छ ।

स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राणवायु हो । प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिएका यस्ता गतिविधिको हामी भत्र्सना गर्छौं ।
विपिन आचार्य
महामन्त्री, रास्वपा
नेपाल पत्रकार महासंघले सोमबारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई सञ्चारकर्मीलाई त्रसित बनाउने प्रयासको रूपमा व्याख्या गरेको छ । ‘घटनाको सिलसिला हेर्दा यो सामान्य देखिँदैन । पत्रकारहरूले भयरहित वातावरणमा काम गर्न पाउनुपर्छ,’ महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।
महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारगृहको नियमित कामकाजमा अवरोध पु¥याउने र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएको उल्लेख गर्दै तत्काल निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।
घटनाले राजनीतिक वृत्तमासमेत तरंग ल्याएको छ । कांग्रेस सभापति थापाले यसलाई प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथिको प्रहारको रूपमा टिप्पणी गरेका छन् । आफ्नै निवास अगाडि पनि गाडी तेस्र्याएर अवरोध सिर्जना गरिएको उल्लेख गर्दै उनले राज्यले आलोचनात्मक आवाजलाई दबाउन खोजेको आरोप लगाए । ‘गाडी राखेर बाटोमात्रै छेकिएको होइन, आवाज नै थुन्न खोजिएको हो,’ सभापति थापाले भने । उनले सरकारप्रति प्रश्न उठाउने सञ्चारमाध्यम, विपक्षी नेता र नागरिकलाई एकै ढाँचामा लक्षित गरिनु गम्भीर विषय भएको बताए । उनका अनुसार लोकतन्त्रमा असहमति र आलोचना स्वाभाविक प्रक्रिया हुन्, त्यसलाई दबाउने कुनै पनि प्रयास अस्वीकार्य हुन्छ ।

लोकतन्त्रमा यस्ता नसुहाउने कार्य किन सरकारबाट भइरहेको छ ? बुझ्न सकिएको छैन तर जे भयो आलोचनात्मक आवाज थुन्न खोजेको देखिन्छ ।
भीष्मराज आङ्देम्बे
प्रमुख विपक्षी नेता
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि घटनाको भत्र्सना गरेको छ । पार्टीले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मूल्य भएको उल्लेख गर्दै सञ्चारमाध्यमलाई त्रसित बनाउने उद्देश्यका गतिविधि स्वीकार्य नहुने जनाएको छ । ‘स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राणवायु हो । प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिएका यस्ता गतिविधिको हामी भत्र्सना गर्छौं,’ पार्टी महामन्त्री विपिन आचार्यले बताए । घटनास्थलमा प्रहरी र ट्राफिक प्रहरी पुगे पनि कसले, किन र कुन उद्देश्यले गाडी राख्यो भन्नेबारे तत्काल कुनै स्पष्ट जानकारी सार्वजनिक नभएको सम्बन्धित सञ्चारगृहहरुले जानकारी दिएका छन् । केही गाडी क्रेनको सहायताले हटाइए पनि अनुसन्धानको गति सुस्त रहेको भन्दै आलोचना भएको छ ।
घटनामा प्रयोग भएका केही गाडीका स्वामित्वबारे विभिन्न विवरण सार्वजनिक भएका छन् । तीमध्ये एक गाडी रास्वपासँग आबद्ध एक नेताले प्रयोग गर्दै आएको खुलेको छ । अर्को गाडीका धनीले आफूले नचलाएको बताएका छन् । यद्यपि, यी दाबीहरूबारे प्रहरीको आधिकारिक निष्कर्ष सार्वजनिक भइसकेको छैन । यो घटनालाई पछिल्ला केही सातादेखि सरकारविरुद्ध उठिरहेका आवाजसँग पनि जोडेर हेरिएको छ । सुकुमबासी व्यवस्थापन, आत्मदाह प्रकरण, सार्वजनिक सेवा प्रवाह, सुशासन र राज्य संयन्त्रको भूमिकाबारे प्रश्न उठाउने समाचार निरन्तर प्रकाशित भइरहेका बेला ती समाचार सम्प्रेषण गर्ने संस्थामाथि नै यस्तो गतिविधि हुनु संयोगमात्र नहुन सक्ने आशंका गरिएको छ ।
जबकि, प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत स्तम्भ हो । सरकारका निर्णयमाथि प्रश्न उठाउनु, सार्वजनिक सरोकारका विषय उजागर गर्नु र नागरिकलाई सुसूचित गर्नु सञ्चारमाध्यमको संवैधानिक दायित्व हो । त्यसैले समाचारको विषयवस्तुसँग असहमति भए त्यसको जवाफ तथ्य, प्रमाण र सार्वजनिक संवादबाट दिनुपर्नेमा अवरोध, त्रास वा दबाबको वातावरण सिर्जना गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक संस्कृतिसँग मेल नखाने प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले बताए । ‘लोकतन्त्रमा यस्ता नसुहाउने कार्य किन सरकारबाट भइरहेको छ ? बुझ्न सकिएको छैन । जे भयो, आलोचनात्मक आवाज थुन्न खोजेको देखिन्छ, जुन लोकतान्त्रिक संस्कृतिसँग मेल खाँदैन,’ उनले प्रभावसँग भने । घटनामा सरकार वा कुनै राजनीतिक शक्तिको योजनाबद्ध संलग्नता रहेको कुरा हालसम्म प्रमाणित भइसकेको छैन ।