काठमाडौं- कर्णालीबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णाली राजमार्गमा दैनिकजसो भइरहने सानाठूला सडक दुर्घटनाप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा कर्णालीका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कर्णाली राजगमार्गको स्तरोन्नति गरी सडक दुर्घटना न्यूनीकरणमा विशेष योजना बनाउन सरकारलाई सुझाव दिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले सुर्खेतदेखि कालीकोट जाँदै गरेको यात्रुवाहक गाडी दैलेख खण्डमा कर्णाली नदीमा दुर्घटना भई बेपत्ता भएको पाँच दिन भइसक्दा पनि यकिन तथ्य आउन नसक्नु विडम्बना भएको बताइन् । “यो दुर्घटना हाम्रा लागि नयाँ होइन, दिनहुँजसो कर्णालीका सडकमा रगत बगिरहेका छन्”, उनले भनिन्, “आज कर्णालीका सडक ‘सडक रहेनन्’, हरेक पटक यात्रा गर्दा नागरिकले आफ्नो ज्यान हत्केलामा राख्नुपर्ने, यो कस्तो विवशता हो ?”
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एशुदाकुमारी बरालले कर्णालीका राजमार्गको स्तरोन्नति गरी दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराइन् । कांग्रेसका खड्ग शाहीले कर्णाली राजमार्गमा दुर्घटनाग्रस्त यात्रुवाहक गाडीको खोजीसम्बन्धी पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले कर्णाली राजमार्गमा दैनिक दुर्घटनाको सङ्ख्या बढ्दै गइरहेका चिन्ता व्यक्त गर्दै उक्त राजमार्ग सडकको मापदण्डभित्र रहे/नरहेका बारेमा छानबिन गर्न माग गरे । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्र ०२-००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो । उक्त यात्रुवाहक गाडी हालसम्म भेटिएको छैन ।
सोही पार्टीका अङ्किता ठाकुरले केही दिनअघि घुमफिरमा निस्केका सप्तरीको राजविराजका २९ वर्षीय नवरतन साहको ललितपुरको लाकुरीभञ्ज्याङ नजिकै दुर्घटनामा परी ज्यान गएको जानकारी गराउँदै बर्खायाममा यात्रा वा भ्रमणको योजना बनाउँदा मौसम, सडकको अवस्था र सम्भावित जोखिम तथा परिवारको सल्लाहलाई ध्यान दिन आग्रह गरिन् ।
रास्वपाका स्मृति सेन्चुरीले यही असार २० गते दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रमा आगलागीबाट गोपाल श्रेष्ठको घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी गराउँदै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् एमालेका ऐनबहदुर शाहीले पछिल्ला केही दिनयता बझाङका विभिन्न क्षेत्रमा आगलागीको घटनाबाट पसल तथा घर जलेर नष्ट भएको जानकारी दिँदै पीडितलाई राहत दिएर पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर बयकले अछामको कमलबजार नगरपालिका-१० मा बालविकास शिक्षिका जानकीकुमारी जैशीलाई विद्यालयमा हाजिर हुन नदिएर अपमान गर्ने वडाध्यक्ष र प्रधानाध्यापकलाई तत्काल कारबाही गर्न माग गरे । नेपालीकांग्रेसका सीता थपलियाले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले सुशासन, सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार न्यूनीकरणका प्रतिबद्धता जनाए पनि जनताले त्यसको अनुभूत गर्न नसकेको धारणा राखिन् ।
नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्लले तत्काल कूटनीतिक र संस्थागत पहलमार्फत फिफासँग विश्वास पुनःस्थापित गरी नेपालमाथिको प्रतिबन्ध शीघ्र फुकुवा गर्न सरकारसँग माग गरे । उनले खेलकुद संस्थाको स्वायत्तताको सम्मान गर्दै यस्ता हस्तक्षेप फेरि नदोहोरिने सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए ।
सोही पार्टीका जोगकुमार बरबरिया यादवले तराई/मधेस क्षेत्रका किसान जङ्गली नीलगाईबाट पीडित हुँदै आइरहेको जानकारी गराउँदै जङ्गली जनावर नियन्त्रण गरेर किसानलाई राहत दिन आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले मुलुकका विभिन्न चिकित्सा शिक्षण संस्थामा अध्ययनरत एमबिबिएस/विडिएस ‘इन्टर्न’ चिकित्सकलाई न्यूनतम मापदण्डभन्दा कम भत्ता दिइएको तथा निर्धारित समयभन्दा लामो समयसम्म काम गर्न बाध्या परिएको जनाउँदै चिकित्सकमाथि हुने श्रम शोषण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
रास्वपा सांसद आशिका तामाङले पछिल्लो समय बर्डफ्लु रोगका कारण पशुपन्छीपालक किसान प्रभावित भइरहेको जनाउँदै सो रोग रोकथाम, नियन्त्रण र पीडित किसानलाई तत्काल राहत दिन सरकारसँग माग गरिन् । सोही पार्टीका प्रकाश पाठकले झापाका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध भइरहेकातर्फ सरकारको ध्यानाकर्षण गराए ।
एमालेका साजिता खातुन सिद्धिकीले बाराको कलैया उपमहानगरपालिका-२१ की १३ वर्षीय सरिया खातुनको मृत्युको घटनामा संलग्नलाई कारबाही गर्न माग गरिन् । सोही पार्टीका गङ्गादेवी श्रेष्ठले ‘गोल्ड क्वाइन’को अवैध नेटवर्किङ व्यवसायलाई तत्काल प्रतिबन्ध लगाउन माग गरिन् । श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ को छक्काङ र वडा नं ५ को कपासे गाउँ फकुम्मा खोला र अरुण नदीको कटानले उच्च जोखिममा परेको जनाउँदै प्रभावित क्षेत्रका जोखिम न्यूनीकरण गरी जनताको आधारभूत समस्या समाधान गर्न माग गरे ।
रास्वपाका नरेन्द्रकुमार गुप्ताले आर्थिक र व्यावसायिक सहर वीरगन्जमा सडक विस्तारका नाममा २५/२५ मिटरभित्रका संरचना भत्काइँदा नागरिक बिचल्लीमा परेको भन्दै तत्काल सो कार्य रोक्न माग गरे । त्यसअघि बैठकको प्रारम्भमा नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले सुशासनको मुद्दा बोकेर उदाएको पार्टीले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सल्लाहकार राख्ने निर्णय गर्नु उपयुक्त नभएको बताए।
श्रम संस्कृति पार्टीका आरेन राईले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित एमबिबिएस तथा बिडिएसका विद्यार्थीसँग १८ महिना नपुग्दै पूरा पाँच वर्षको शुल्क असुलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । राप्रपाका ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको दैलेख खण्डमा यात्रुवाहक गाडी दुर्घटना भई कर्णाली नदीमा यात्रुसहित बेपत्ता भएको पाँच दिन भइसक्दा पनि गाडी र यात्रु फेला नपर्नुमा जिम्मेवार निकायको लापरबाही भएको बताए।