काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा ठूलो फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ ।
हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोगमार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालयसमक्ष पेस गरेका छन् । कम्पनी रजिष्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठूलो भार कम हुनेछ ।
एआइ कल सेन्टर र प्रविधिको प्रयोग
सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न कार्यालयले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) एआइ प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिष्ट्रार श्रेष्ठले जानकारी दिए । जसका कारण अब २४सै घण्टा सेवाग्राहीले कम्पनी दर्ता सम्बन्धी जानकारी वा सेवा पाउन सक्ने भएका छन् ।
घरबाटै कम्पनी दर्ता र प्यान नम्बर
रजिष्ट्रार श्रेष्ठका अनुसार सरकारको शासकीय सुधारसम्बन्धी प्रतिवेदनको बुँदा नम्बर ५८ मा उल्लेखित निर्देशन कार्यान्वयन गर्दै विगतमा सेवाग्राहीले भोग्दै आएका सास्ती र झन्झटको अन्त्य गर्न पूर्ण डिजिटल प्रणालीको सुरुआत गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ र घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने नियम बनाइएको छ । घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने गरी प्रणाली विकसित गरिएको छ ।
यसका साथै, कम्पनी दर्तापश्चात् व्यावसायिक स्थायी लेखा नम्बर लिनका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय गइरहनु नपर्ने गरी प्रविधिलाई एकीकृत गरिएको छ । यो व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयको दाबी छ ।
उद्योगमन्त्रीद्वारा कम्पनी रजिष्ट्रारको कार्यालयको अनुगमन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले आज कम्पनी रजिष्ट्रारको कार्यालयको अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न र आगामी दिनमा नयाँ प्रविधिको अधिकतम प्रयोगमा ध्यान दिन निर्देशन दिएकाी उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।