काठमाडाैं - प्रेस काउन्सिल नेपालका कर्मचारीहरू बिहानैदेखि आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि नेपाल सरकारले उपलब्ध गराउने महँगी भत्ता नपाएपछि कार्यालय परिसरमा उनीहरूले धर्ना दिएका हुन्।
आज बिहान कार्यालय खुल्नेबित्तिकै स्थायी कर्मचारीहरूले मुख्य प्रवेशद्वारमा धर्ना दिँदै आफूहरूलाई समान रूपमा भत्ता उपलब्ध गराउन माग गरेका थिए। कर्मचारीहरूका अनुसार गत माघ महिनादेखि भत्ता वितरण रोकिएको छ, जसका कारण आर्थिक भार थपिएको छ।
पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ। यता, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कर्मचारीहरूको मागबारे पटक–पटक छलफल भएको र बजेट निकासाका लागि आवश्यक पहल भइरहेको बताएका छन्।
बजेट निकासा प्रक्रियामा ढिलाइ भएकाले भत्ता प्राप्तिमा समय लागेको उल्लेख गर्दै उनले कर्मचारीहरू भत्ता नै नआउने हो कि भन्ने चिन्तामा परेको हुन सक्ने बताए।