काठमाडौं - बैंक तथा वित्तीय संस्थाको निक्षेप केन्द्रीय बैंकमा थुप्रिने क्रम जारी छ । कर्जाको माग न्यून र अर्थतन्त्रको गति सुस्त हुँदा वित्तीय प्रणालीको पैसा राष्ट्र बैंकमा थुप्रिएको हो ।
केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १० खर्ब ९ अर्ब रुपैयाँ थन्किएको छ । यो रकम केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत खिचेको हो ।
वित्तीय प्रणालीको तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैंकले अधिक तरलता खिच्ने गर्छ । राष्ट्र बैंकले ७ खर्ब ७५ अर्ब निक्षेप संकलनमार्फत खिचेको रकम छ भने २ खर्ब राष्ट्र बैंक ऋणपत्र र ५५ अर्ब ३० करोड रुपैयाँ स्थायी निक्षेपमार्फत खिचेको हो ।
केन्द्रीय बैंकले बुधबार पनि ४४ दिने अवधिको २० अर्ब तरलता खिच्ने भएको छ । वैशाख १७ गते एक खर्ब २० अर्ब रुपैयाँ बराबरको ९७ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले बुधबार पुनः २० अर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा वित्तीय प्रणालीमा करिब ४३ अर्ब तरलता रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्व हुने भएपछि त्यसलाई पुनः खिच्नका लागि निक्षेप संकलन उपकरण जारी भएको हो । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा अल्पकालका लागि स्थायी निक्षेप सुविधा मार्फत पैसा केन्द्रीय बैंकमा राख्छन् ।
निक्षेप संकलन उपकरणमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ । त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ । हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ ।