वीरगञ्ज- उद्यमी-व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व संकलन प्रभावित भएको छ । आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा दुई दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । उद्यमी-व्यवसायीको असहयोगका कारण राजस्व संकलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात-निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको छ ।
सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रुपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थ, सागसब्जी, फलफूल तथा औद्योगिक कच्चापदार्थको भन्सार जाँचपासमा कुनै समस्या नभएको विभागले जनाएको छ । त्यसबाट रु ३१ करोड राजस्व संकलन भएको छ । वीरगन्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व संकलन गर्दै आएको छ ।
यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरु भन्सार जाँचपास प्रक्रियामा सहभागी नाएको बताए ।